एरा प्रोडक्सन प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र ‘चिट्ठी’ले केन्द्रीय चलचित्र जाँच पास समितिबाट पिजी सर्टिफिकेट पाएको छ । अब यो चलचित्र १६ बर्ष मुनिका बालबालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने भएका छन् ।
कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको यो चलचित्र सञ्चारकर्मी समेत रहेकी कमला जोशीले निर्माण गरेकी हुन् । माधव राज खरेलको लेखन र निर्देशन रहेको यस चलचित्रको प्रदर्शन मिति भने केहीदिन भित्रै सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्र हेरिसकेपछि सेन्सर समितिका पदाधिकारीहरुले राम्रो चलचित्र भएको प्रतिक्रिया दिएका छन् ।
चलचित्र ‘चिट्ठी’मा प्रमुख कलाकारका रुपमा सञ्जित भण्डारी, खड्ग बहादुर पुन मगर खवपु, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन चालिसे र नम्रता खरेल पौडेल रहेका छन् भने विशेष भूमिकामा वरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रका गीतमा सरोज कोईरालाले सङ्गीत भरेका छन् भने शिव परियार, बेनिशा पौडेल र वसन्त अर्यालले स्वर दिएका छन् l डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको यस चलचित्रमा एउटा शिवताण्डव समेत रहेको छ, जसको सङ्गीत संयोजन राजेन्द्र बजगाईँले गरेका हुन् ।
जीवन पराजुली एवम् राजन खरेलको छायाङ्कन, किरण दाहालको द्वन्द्व निर्देशन र कृष्ण बहादुर कार्कीको निर्माण व्यवस्थापन रहेको यस चलचित्रमा अमृत चापागाईँको पोस्टर एवम् साहिल खानको प्रोमो डिजाइन रहेको छ । चलचित्र राजेश कुमारले सम्पादन गरेका हुन् भने समिर मियाँको भिएफएक्स, पुष्कर खत्रीको ब्याकग्राउण्ड म्युजिक, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ ।