तेजवतीको एकल स्वरमा नेपाल भाषाको गीति एल्बम ‘मिखाया भाय्’   

-तुलसी गिरी ‘भावुक’

वरिष्ठ गायिका तेजवती जोशीको एकल स्वरमा रहेको नेपाल भाषाको गीति एल्बम ‘मिखाया भाय्’ सार्वजनिक भएको छ l केहीदिन अघि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक भव्य समारोहमा गायिका तेजवतीको सो एल्बमको लोकार्पण गरिएको थियो l एल्बममा हरिराम महर्जन ‘थेचो’, योगेन्द्र राजकर्णिकार, दर्शनवीर शाक्य र सुरजवीर बज्राचार्यको शब्दमा ‘य:मा जित बियाछ्वय् म्वाल (आमा मलाई बिहे गरेर पठाउनु पर्दैन), मिखां मिखाया भाय् मथुगु (आँखाले आँखाको इशारा नबुझेको), हाकु दाइचा ए हाकु दाइचा (काले दाइ ए काले दाइ) र सुलुलुलुं हायाच्वन’ (सररर बगिरह्यो) बोलका ४ वटा गीत रहेका छन् भने सबै गीतमा प्रसिद्ध सङ्गीतकार जुगल डंगोलको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ l एल्बममा पहिलो नम्बरमा रहेको गीत ‘य:मा जित बियाछ्वय् म्वाल’ को  भिडिओ समेत समारोहमा सार्वजनिक गरिएको थियो l यही एल्बमको गीतबाट तेजवतीले ‘निम अवार्ड २०७८’ मा ‘वेष्ट सिंगर अफ दि ईयर’ र ‘नेपाल भाषा स्टार म्युजिक अवार्ड २०७९’ मा ‘जुरी अवार्ड’ प्राप्त गरेकी छिन् l 

साँखु माइतीघर र काठमाण्डौको मैतीदेवी कर्मघर भएकी तेजवती सानै उमेरदेखि गीत-सङ्गीतप्रति गहिरो झुकाव भएकी एक प्रतिभाशाली कलाकार हुन् l स्कूले उमेरमै छँदा साँखुकै सङ्गीत गुरु विष्णु प्रसाद श्रेष्ठसँग शाश्त्रीय सङ्गीतको प्रारम्भिक ज्ञान लिएकी तेजवतीले पछि पाटनका गुरु मोहन प्रसाद जोशीसँग र ललितपुरकै इन्दिरा कलानिधि सङ्गीत विद्यालयमा धन बहादुर गोपाली र चन्दन कुमार श्रेष्ठसँग थप ज्ञान आर्जन गरेकी थिईन् l ललितकला, भोटाहिटीमा सङ्गीत लिएर माष्टर्स सम्मको अध्ययन पूरा गरेकी तेजवतीले बिगतमा उस्ताद गणेशलाल श्रेष्ठको स्मृतिमा स्थापित ‘वाद्यशिरोमणि घराना’ लगायत विभिन्न विद्यालय र इन्स्टिच्युटहरुमा सङ्गीत प्रशिक्षकको रुपमा लामो समय काम गरिसकेकी छिन् भने हाल उनी निसर्ग वाटिका, रविभवन र फन किड्स, रानीबारीमा सङ्गीत सिकाईरहेकी छिन् l ‘निसर्गमा १० वर्षदेखि सिकाईरहेकी छु’ उनले स्पष्ट पारिन् l

करिव २५ वर्ष अघि नै रेडियो नेपालबाट क्लासिकल गायनमा स्वर परीक्षा पास गरेकी विशिष्ट श्रेणीकी गायिका तेजवतीले प्रज्ञा प्रतिष्ठान कमलादी, किराँतेश्वर पशुपति, यलमाया पाटनढोका लगायतका धेरै ठाउँमा सङ्गीतको शाश्त्रीय कला प्रस्तुत गरिसकेकी छिन् l यदाकदा आफ्नै शब्द/सङ्गीतमा समेत गीत रेकर्ड गर्ने गरेकी उनले हालसम्म नेपाल भाषाका लगभग १ दर्जनका साथै आधुनिक, बाल, भजन, लोकदोहोरी, राष्ट्रिय भाव र पर्व विशेष गरी लगभग २ दर्जन जति गीत रेकर्ड गरेकी छिन् l हाल एकल स्वरमा नेपाली भाषाको आधुनिक गीति एल्बम प्रकाशनको अन्तिम तयारीमा रहेको कुरा समेत उनले जानकारी गराईन् l ४ वटा गीत रहने सो एल्बममा टेकेन्द्र नेपालीको सङ्गीत रहेको छ भने एल्बमका २ वटा भिडिओ युट्युबबाट सार्वजनिक भइसकेका छन् l

तेजवतीको मुख्य बाजा पियानो र हार्मोनी हो l घरको साङ्गीतिक माहोलले गर्दा पनि उनलाई सङ्गीतमा निरन्तरता दिन सहज भएको छ l सङ्गीतमै माष्टर्स गरेका तेजवतीका पति योगेन्द्र राजकर्णिकार आर. आर. कलेज र नेपाल भाषा केन्द्रीय विभागमा नेपाल भाषा पढाउँछन् भने उनी स्वयम् गीत लेख्ने, सङ्गीत सिर्जना गर्ने र गाउने पनि गर्छन् l तेजवतीका हरेक साङ्गीतिक पाइलाहरुमा पति योगेन्द्रको प्रेमिल साथ र सहयोग रहँदै आएको छ l