उपन्यास समाज नेपालको आयोजना विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित ‘अनौठो माया’ उपन्यासको राजधानीमा आयोजित एक समारोहबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सभापति उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले चार दशकदेखि साहित्य एवं कला क्षेत्रमा लागेर महत्त्वपूर्ण योगदान दिएकोमा उपन्यासका लेखक सुरेन्द्र महर्जन ‘अमर’ को प्रशंसा गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित अतिथिहरुले धेरै भन्दा धेरै पुस्तक एवं साङ्गीतिक कृति प्रकाशित गरेर साहित्यमा ठूलो योगदान दिने सुरेन्द्र महर्जन ‘अमर’ को खुलेर तारिफ गरेका थिए l ‘अनौठो माया’ उपन्यासभित्र समस्यासँगै समाधान पनि भएको बताउँदै कार्यक्रमकी अतिथि पत्रकार गीता अधिकारीले भनिन् -‘अहिलेको कृत्रिम जमानामा मान्छेले एक अर्कालाई गर्ने प्रेमप्रति विश्वास गर्ने कि नगर्ने ? प्रश्न गर्न लायक कुरा र समाधान उपन्यासमा पाइन्छ l’
कार्यक्रममा पत्रकार चक्रप्रसाद पोखरेलले साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले आफ्नो ३२ औं कृति प्रकाशित गरेर साहित्यको निमित्त धेरै ठूलो योगदान दिएको धारणा राखेका थिए । ओएस नेपालको तर्फबाट विवेक कार्कीले उपन्यासको विषयमा आफ्नो विचार राख्दै ‘अमर’ ले साहित्य मात्रै नभएर गीत, सङ्गीत क्षेत्रमा समेत अमूल्य योगदान दिएकोमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा चर्चित एवं विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले धेरै पृष्ठको उपन्यास भन्दा सरल र यथार्थपरक कथा समावेश गरेर पाठक माझ पुर्याउने साहित्यकार भन्दै ‘अमर’को प्रशंसा गरेका थिए । यसैगरी सङ्गीतकार एवं गायक सूर्यकमल राईले अरु उपन्यास भन्दा फरक शैलीमा सरल तरिकाबाट कथा समेटिएकोले उपन्यासले सबैको मन जित्ने बताए । अन्तरक्रिया कार्यक्रमपछि शंकर भारतीबाट उपन्यासको अडियो भर्सन सार्वजनिक गरिएको थियो । पुस्तक प्राप्त नभएको खण्डमा पनि अडियोबाट उपन्यासको मजा लिन सकिने कुरा उपन्यासका लेखक सुरेन्द्र महर्जन ‘अमर’ ले बताए । उपन्यासको अडियो भर्सनमा कृष्णराज अधिकारीको आवाज रहेको कुरा थाहा भएको छ ।