कहिलेकाहीं ( गीत )

-शंकर गिरी

कहिलेकाहीं आउने गर मेरो मनको तरेलीमा
जून बनी नाचिदेऊ तिमी मेरो परेलीमा

गुराँसको फूल टिपी सिउँदो सजाईदिउँला
मखमली फूल टिपी हार लगाईदिउँला
आकाशको तारा बनी पार रिमिझिमी
कहिलेकाहीं…

जीवनको उजेलीमा मीठो गीत गाईदेऊ न
मोती बनी तिमी मेरो कण्ठ सजाईदेऊ न
रात पनि दिन हुन्छ तिम्ले हाँसे अझै पनि
कहिलेकाहीं…

बनमा चर्ने चरिबरी फूलैफूलको माझ
कठै तिमी माया मारी गयौ किन आज
मुसुमुसु हाँसिदेऊ न लौ न उजेलीमा
कहिलेकाहीं…

रुप तिम्रो कस्तो कस्तो रत्न जडे जस्तो
जोवन तिम्रो सुकुमारी उडाई लगुं जस्तो
वसन्तको भेल बनी बगिदेऊ मेरो मुहारमा  
कहिलेकाहीं…