मोडल पवित्रा र उषा ‘निशा घिमिरे स्मृति पुरस्कार’ बाट पुरस्कृत, चर्चित पत्रकार सुवेदीलाई सम्मान

-तुलसी गिरी ‘भावुक’

अभिनेत्री तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेती जनही नगद रू. २५-२५ हजार र प्रशंसापत्र सहित ‘निशा घिमिरे स्मृति पुरस्कार’ बाट पुरस्कृत भएका छन् l ‘निशा घिमिरे स्मृति कोश’ द्वारा बागबजारस्थित होटल हार्दिकमा आज आयोजित समारोहमा कलाकारद्वय पवित्रा र उषालाई नगद सहित पुरस्कृत गरिएको हो l समारोहमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी, बहुचर्चित कला पत्रकार प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई समेत सम्मान गरिएको छ l

केहीवर्ष अगाडि भारतमा सडक दुर्घटनामा परेकी अभिनेत्री / मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरी मार्फत नर्भिक अस्पतालमा नि:शुल्क उपचार गरिएको थियो । ५-६ महिनाको उपचार पछि उपचाररत अवस्थामा नै उनको २०७८ भदौ १६ गते निधन भएको थियो । उनी उपचाररत अवस्थामा नै देश विदेशमा रहेका शुभेच्छुक सहृदयी दाताहरुले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग रकम पठाएका थिए ।

शुभेच्छुक दाता र रजतपटका सञ्चालक सञ्चारकर्मी प्रकाश सुवेदीको सक्रीयतामा कोशमा जम्मा हुन आएको रकमलाई निशा घिमिरे दिवंगत भएपछि अक्षयकोशमा राखि प्रत्येक वर्ष दुई जना मोडल / अभिनेत्रीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार’ दिने निर्णय भए वमोजिम यस वर्षको पुरस्कार पवित्रा आचार्य र उषा उप्रेतीलाई समर्पण गरिएको हो । कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा गत श्रावण १४ गते बसेको बैठकले पुरस्कारको विषयमा निर्णय गरी त्यहीबेला सार्वजनिक गरेको थियो l

कलाकार निशाको निधन भएपछि देश-विदेशका शुभेच्छुकहरुले दिएको रकम मध्ये केही रकम निशाकै उपचारको सिलसिलामा लिएको ऋण तिर्न र काजकिरिया गर्न उनको परिवारजनलाई दिईएको र बाँकी रकमबाट निशा झैँ राम्रो सम्भावना बोकेका उदियमान महिला कलाकारहरुलाई प्रोत्साहित गर्नका लागि प्रयोग गर्ने निर्णय भए बमोजिम अक्षयकोश खडा गरी गतवर्ष नै ‘नवजीवन परोपकार समाज’ र ‘नेपाल चलचित्र कलाकार सङ्घ’को पहलमा ‘निशा घिमिरे स्मृति कोश’ को स्थापना गरिएको कुरा कोशका सदस्य सचिव वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले जानकारी गराएका छन् । हाल ‘निशा घिमिरे स्मृति कोश’मा दुर्गानाथ दाहाल, मोहन निरौला र स्व. निशा घिमिरेकी दिदी उषा घिमिरे रहेका छन् ।

कला पत्रकार जीवन पराजुलीले सहजीकरण गरेको सो समारोहमा पहिलो नेपाली चलचित्रकी नायिका विशिष्ट कलाकार भुवन चन्द, वरिष्ठ चलचित्रकर्मीहरु लय सङ्ग्रौला, मिथिला शर्मा, रविन्द्र खड्का, उत्तम के. सी., कोशका संयोजक दुर्गानाथ दाहाल, सदस्य सचिव विशिष्ट चलचित्रकर्मी मोहन निरौला, विशिष्ट ग्राफिक डिजाइनर सुन्दर श्रेष्ठ, वरिष्ठ कला पत्रकार विजयरत्न तुलाधर र शान्तिप्रिय, विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ लगायत कलाकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो l