लामो समयदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक तथा गीतकार सुमन दाहाल त्यहाँ चलचित्र तथा म्युजिक भिडिओ निर्माण, निर्देशन, गीत लेखन र लोकदोहोरी कार्यक्रम सञ्चालनमा निकै व्यस्त रहँदै आएका छन् । यसै क्रममा उनले भरखरै आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत ‘छोराछोरी बिदेशी भूमिमा’ को भिडिओ दर्शकमाझ ल्याएका छन् ।
आफू ५ वर्षदेखि अमेरिकामा बस्दै आएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या यो गीतमा लेखेका छन् । गीत बाल कलाकार जेनिस उप्रेतीले गाएका हुन् । जसमा सरोज प्याकुरेलको सङ्गीत, मनोहर सुनामको सङ्गीत संयोजन र भोला पौडेलको मिक्सिङ रहेको छ । यो गीतको भिडिओ उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । भिडियो अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायाङ्कन गरिएको छ ।
गीतबारे निर्देशक तथा गीतकार सुमन दाहालले भने,‘हामी अमेरिका तथा अन्य देशमा बस्नेहरुले नेपालबाट पैसा कमाएको मात्र देख्छन् । तर हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाईएको हो ।’ गीतको भिडिओमा पवन गौतमको छायाङ्कन, सुरेश राउतको सम्पादन, अक्की शर्मा र विकाश सुवेदीको प्राविधिक सहयोग, उत्सव उप्रेतीको ड्रोन एवम् सुमन दाहालको निर्देशन रहेको छ । भिडियोको सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको हो ।
भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका रहेको छ । उनीहरुलाई त्यहाँ रहेका बालबालिकाहरु सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोईराला, दर्शना कोईराला र फ्लोरिशा तिमल्सिनाले साथ दिएका छन् ।
मूलत यो गीतमा छोराछोरी बिदेशमा हुँदा स्वेदशमा रहेका बुबा आमा तथा परिवारको पीडा प्रस्तुत गरिएको छ । यस्तै बिदेशमै रहेकाहरुको नानीबाबु र उनीहरुका बुबा आमाको पीडा तथा कथालाई पनि यो गीत र भिडिओमा प्रस्तुत गरिएको छ ।