– तुलसी गिरी ‘भावुक’
मेलोडी सुल्तानको उपनामले विख्यात सङ्गीतकार/गायक शिशिर योगीले सहरमा बस्ने हुनेखाने वर्गका असभ्य मानिसहरुलाई व्यङ्ग्य गरिएको गीत ‘म त सहरिया’ को भिडिओ सार्वजनिक गरेका छन् l योगीको आफ्नै सङ्गीत तथा स्वरमा रहेको यस गीतको भिडिओ केही घण्टा अघि उनले आफ्नै अफिसियल युट्युब च्यानल Shishir Yogi बाट सार्वजनिक गरेका हुन् l
गीतले हुनेखाने र आफूलाई जान्नेसुन्ने ठान्ने सहरिया मान्छेहरुको वास्तविक चरित्र कति स्वार्थी, अनैतिक, व्यक्तिवादी र कपटपूर्ण हुँदै गईरहेको छ भन्ने कुरा छर्लङ्ग पारेको छ l यथार्थपरक भाव बोकेको यस गीतले व्यङ्ग्य सँगसँगै सहरिया मान्छेहरुलाई सन्देश पनि दिएको छ l मूल रचनाकार पुरुषोत्तम अधिकारी र शव्द सम्पादक हरिहर तिमिल्सिना रहेको यस गीतमा सचिन सिंहले सङ्गीत संयोजन गरेका छन् भने अडियो मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् l
वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यो भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, छायाङ्कन र सम्पादनमा तयार भएको हो l जसमा लोकेश भाट सह सम्पादकको रुपमा रहेका छन् l भिडिओमा सङ्गीतकार / गायक शिशिर योगीका साथै मोडल कलाकारको रुपमा मिठाराम के. सी., कृष्णभक्त महर्जन, अर्जुन कुँवर, शिबु पाण्डे आदिले अभिनय गरेका छन् l