१०८ विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ सार्वजनिक भएको छ । ५० भाषाको गीत समेटिएको गीतको लिरिकल भिडिओ डी.आर. म्युजिक एण्ड क्रिएशनको नामक युट्यव मार्फत आज सार्वजनिक भएको हो ।
यो गीतले गिनिज बुक अफ वर्ल्ड रेकर्ड कामय गरेको छ । सन्तोष श्रेष्ठको सङ्गीत रहेको यस गीतमा नेपाली भाषामा सङ्गीतकार सन्तोषकै स्वर रहेको छ भने हिन्दी भाषामा गीतकार डी. आर.को र अन्यमा प्रकाश तिमिल्सिनाको स्वर रहेको छ ।
५० भाषाको सो गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इण्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोलम्बियन, कुर्दिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ । डा. उपाध्यायको यसअघि १२ भाषामा रहेको गीति एल्बम सार्वजनिक भएको थियो ।
गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौं गीत स्रोता/दर्शकमाझ छन् । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्ड सहित १० सय ८ विश्व रकेर्ड कायम गर्नुभएको छ डा. उपाध्यायले ।
डा. उपाध्यायका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र ‘भाइरस लभ’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास छिट्टै सार्वजनिक गर्ने बताउनुभयो ।