– तुलसी गिरी ‘भावुक‘
सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालले आफ्ना सबै सदस्य १६ सय ७१ जनालाई रोयल्टी वितरण गरेको छ l संस्थाको १६ औं स्थापना दिवसको अवसरमा पुतलीसडकस्थित स्काई दरबार ब्याङ्केटमा बुधबार आयोजित समारोहमा संस्थाले पहिलोपटक आफ्ना सबै सदस्यहरुलाई रोयल्टी वितरण गरेको हो l
संस्थाका अध्यक्ष सुरेश अधिकारीले दिएको जानकारी अनुसार गीत-सङ्गीतको सार्वजनिक प्रयोग भए बापत सार्वजनिक यातायात, रेडियो, टेलिभिजन, रियालिटी शो, मेला महोत्सव, होटल-रेष्टुरेन्ट आदि क्षेत्रबाट उठेको कूल रोयल्टी रकम २ करोड ७१ लाख ३५ हजार मध्येबाट बुधबार १ करोड १ लाख ७२ हजार २ सय ८१ रुपैया सदस्य गीतकार / सङ्गीतकारहरुलाई वितरण गरिएको हो भने बाँकी रकम निर्धारित मापदण्डका आधारमा सङ्गीत तथा चलचित्र उत्पादक समाज र प्रस्तोता समाजमा पठाईएको छ l ती दुबै संस्थाले पनि छिट्टै आफ्ना सदस्यहरुलाई सो रोयल्टी वितरण गर्ने कुरा थाहा भएको छ l
कार्यक्रममा एकजना सर्जकले अधिकतम ४ लाख १३ हजार र न्युनतम १३ सय ४७ रुपैया रोयल्टी प्राप्त गरेका छन् l डाटा नखुलेको रोयल्टी लामो समयदेखि फ्रिज रहँदै आएकोमा अग्रजहरु समेतको परामर्शमा मापदण्ड निर्धारण गरी साधारण सभाबाट पारित गरेर सदस्यहरुलाई वितरण गरिएको हो l सदस्यता, योगदान, डिजिटल तथ्याङ्क, युट्युब आदिलाई मापदण्डको मुख्य आधारका रुपमा लिईएको कुरा थाहा भएको छ l यही रोयल्टी रकमबाट ५ लाख ८६ हजार ६ सय १४ रुपैयाको ‘सङ्गीत रोयल्टी अक्षय कोश’ को समेत स्थापना गरिएको कुरा संस्थाका महासचिव बद्रि पाण्डेले जानकारी गराएका छन् l
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम बहादुर आलेको प्रमुख आतिथ्य एवं संस्थाका अध्यक्ष सुरेश अधिकारीको सभापतित्वमा सम्पन्न सो समारोहमा संस्था स्थापना गर्न र प्रारम्भिक चरणमा सर्जकहरुको हक अधिकारलाई स्थापित गर्नका लागि महत्वपूर्ण योगदान गर्ने १७ जना विशिष्ट व्यक्तिहरुलाई अभिनन्दन गरिएको थियो l जस अनुसार गीतकार दिनेश कुमार थपलिया, पूर्व अध्यक्ष श्रीपुरुष ढकाल, पूर्व अध्यक्ष यादव खरेल, पूर्व मुख्य सचिव डा. भोजराज घिमिरे, पूर्व सचिव चन्द्र कुमार घिमिरे, गीतकार एस्पी कोईराला, गीतकार दिनेश अधिकारी, पूर्व रजिष्ट्रार विसु कुमार के.सी., पूर्व यातायात डी. जी. रुपनारायण भट्टराई, मन्त्रालयका सचिव भरतमणि सुवेदी, पूर्व रजिष्ट्रार राम प्रसाद भट्टराई, लोक गायक कुमार बस्नेत, म्युजिक नेपालाका प्रमुख सन्तोष शर्मा, गीतकार चूडामणि देवकोटा, संस्थाका पूर्व अध्यक्ष महेश खड्का र सङ्गीतकार लक्ष्मण शेषका साथै पूर्व मन्त्री स्व. रविन्द्र अधिकारीलाई समेत मरणोपरान्त अभिनन्दन गरिएको थियो l स्व. अधिकारीको अभिनन्दन उनकै धर्मपत्नी विद्या भट्टराईले ग्रहण गरेकी थिईन् l
यसैगरी समारोहमा ७१ जना संस्थापक सदस्यहरुलाई समेत सम्मान गरिएको थियो l जसमध्ये दिवंगत सर्जक रत्न शमशेर थापा, मदन दिपविम, युक्त बहादुर गुरुङ, डा. राममान तृषित, भैरवनाथ रिमाल ‘कदम’, आइसिङ लामा, विजय सिंह मुनाल, ईश्वर वल्लभ, शम्भु कुमार मिलन आदिको सम्मान परिवारजनले ग्रहण गरेका थिए l
समारोहमा प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव सुरेश आचार्य विशिष्ट अतिथिका रुपमा र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी रजिष्ट्रार विष्णु कुमारी भट्टराई, यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी एकान्तकुनाका प्रमुख मदन पोखरेल, सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष निर्मलराज ढकाल र प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमाल विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए l कार्यक्रम संस्थाका महासचिव बद्रि पाण्डेले सञ्चालन गरेका थिए भने उपाध्यक्ष चन्द्र शर्माले अतिथिहरुको स्वागत गरेका थिए l
कार्यक्रमस्थलमा आफ्नो रोयल्टीको चेक लिन नपाएका सर्जक सदस्यहरुले संस्थाको परिचयपत्र सहित अनामनगरस्थित कार्यालयमा स्वयं उपस्थित भई चेक लिन आग्रह गरेको छ l डाटा खुलेका रोयल्टी संस्थाले नियमित वितरण गर्दै आईरहेको छ l