नेपाल मानव धर्म सेवा समितिको आयोजनामा ‘महान सत्सङ्ग समारोह २०७९’ सम्पन्न


नेपाल मानव धर्म सेवा समितिको आयोजनामा ‘महान सत्सङ्ग समारोह २०७९’ आयोजना भएको छ । कोरोना महामारीको तीन वर्षपछि समितिले काठमाडौंमा सत्सङ्ग समारोह आयोजना भएको हो । सत्सङ्ग समारोहमा अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व विभूजी महाराजले मानव जीवनमा अध्यात्मको के महत्व छ र जीवनलाई कसरी सहज बनाउन सकिन्छ भनेर प्रवचन दिएका थिए ।

उनले ब्रह्माण्डलाई सम्झन गाह्रो भए पनि आफूभित्र भएको त्यो चेतनालाई सम्झनुपर्ने बताए। उनले भने, ‘जहाँ संसार छ, त्यहाँ संसारको बन्धन छ। तर हामी त्यो बन्धन भन्दा बाहिर निस्कने प्रयास गर्नुपर्छ । यदि संसारमा मोह नहुने भए हामी पनि खुशी खुशी संसार छोडेर जाने थियौं।’ 

हरेक मानिस संसारको मोहमा मस्त रहेको बताउँदै उनले थपे, ‘धेरै मानिसले सबै दुःख कम होस् भन्ने चाहन्छन् । तर यसका लागि सही प्रयास गर्दैनन् । मानिसको सबैभन्दा ठूलो समस्याको कारण मन हो । त्यसैले महान पुरुषहरूले देखाएको बाटोमा लाग्नुपर्छ । हामीले भर्खरै कोरोनाका करण धेरै नै दुःख पायौं तर अब त्यसलाई बिर्सिएर जीवनलाई नयाँ तरिकाबाट शुरु गर्नुपर्छ । सन्त महात्माहरूले ज्ञान भक्ति र कर्मको त्रिवेणिद्वारा मानव जीवनलाई सहज सरल र आनन्ददायक बनाउनुपर्छ ।’

सत्संग कार्यक्रममा सङ्गम श्रुति साङ्गीतिक समूहले आफ्नो प्रस्तुति दिनुको साथै बालसभाका बालबालिकाले नृत्य, नाटक प्रस्तुत गरेका थिए। कार्यक्रममा तीन हजार भन्दा बढी भक्त समुदायको उपस्थिति रहेको आयोजकले जनाएको छ ।