कोही व्यक्ति घरगाउँ छोडेर जति टाढा जान्छ त्यति नै आफ्नो परिवार, समाज र परिवेशको महत्व बढ्दै जान्छ । यस्तै विषयवस्तुमा गीतकार प्रकाश सुवेदीको शब्द सृजना, राज सागरको सङ्गीत / स्वर, साहस शाक्यको सङ्गीत संयोजन र चन्द्र चौधरीको मिक्सिङ / मास्टरिङमा ‘असारै लाग्यो दर्कियो पानी’ गीति भिडिओ सृजना र सेरोफेरो युट्यूव च्यानल मार्फत सार्वजनिक भएको छ ।
‘असारै लाग्यो दर्कियो पानी धर्कियो यो मन, घरका जहान सम्झेर उतै फर्कियो यो मन ।’ जब चाडपर्व र घरमा कामको चटारो पर्छ तब परदेशीलाई परिवार र घरको झनै चिन्ता बढ्दछ । असार नजिकिंदै गर्दा जति जति पानी दर्किंदै जान्छ परदेशीको मन त्यति त्यति धर्किँदै जान्छ । उसको मनमा अनेक प्रश्नहरु उब्जिँदै जाज्छन् । कतै पहिरो गएर घरबारी नै पो बगाउने हो कि ? सिमखेतको कुलो भत्कियो होला आफ्नो अनुपस्थितिमा कसले बनाईदिन्छ ? बुढा भएका आमा बुबा र काखे बच्चा सहितकी श्रीमतीलाई मेलापात र घरको काम धान्न कति गाह्रो भयो होला ? मेरा बाल्यकालका साथीहरु अहिले के गर्दै होलान् ? यस्तै यस्तै । ‘प्रवासी माटो यो जीवनशैली रुच्दैन क्यै गरि बुझाउँ भन्छु आफ्नै मन बुझ्दैन क्यै गरि ।’
प्रवासी जीवन साच्चिकै कष्टकर छ । न त्यहाँ कोही आफन्त हुन्छ न गाउँको जस्तो आफ्नोपन र आत्मियता नै । घर छोडेर जाने बेला ताते ताते गर्दै हात समाउँदै हिँड्ने कान्छी छोरी पनि अब त ठूली भैसकी होला । अब घर जाँदा नचिन्ने पो हो कि ? भन्ने अनेक प्रश्न परदेशीको मनमा उब्जिन्छन् । परदेशीलाई परिवार मात्र हैन गाउँबेँशी, बाल्यकाल, साथीभाइ, आफन्त लगायत सिङ्गो परिवेशको यादले सताउँछ । साँच्चै भन्दा परदेशीलाई आफ्नैसँग विरानो हुनुपरेको आभास हुन्छ ।
गीतकार स्वयं प्रकाश सुवेदीको प्रस्तुति रहेको यस गीतको भिडिओमा निशान घिमेरेको सम्पादन र अच्युत रेग्मीको छायाङ्कन रहेको छ । स्टूडियो भर्सनमा बनेको यस भिडिओमा गायक राज सागर र गायिकाद्वय जीना रसाइली विश्वकर्मा र गृष्मा खड्कालाई देख्न पाइन्छ ।