‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ को औपचारिक समुद्घाटन

-तुलसी गिरी ‘भावुक’


‘गोल्डेन भ्वाइस’ को उपनामले प्रसिद्धि कमाएका अग्रज सङ्गीतकार / गायक प्रेमध्वज प्रधानको प्रथम वार्षिक श्रद्धाञ्जली सभा तथा उहाँको नाममा स्थापित ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ l शनिबार काठमाण्डौको हात्तीसारस्थित आरण्य बुटिक होटलको सभा हलमा आयोजित एक समारोहमा सो कार्यक्रम सम्पन्न भएको हो l प्रतिष्ठानको समुद्घाटन स्व. प्रेमध्वजकै धर्मपत्नी श्रीमती किरण प्रधानले गर्नुभएको थियो l

समारोहमा दिईएको जानकारी अनुसार प्रतिष्ठानको सल्लाहकार समितिमा अग्रज सर्जकहरु बच्चु कैलाश बस्नेत, किरण खरेल, योगेश वैद्य, शम्भुजित बासकोटा, र मञ्जु कुमार श्रेष्ठ रहेका छन् भने कार्यकारिणी समितिमा संरक्षिका तथा अध्यक्ष श्रीमती किरण प्रधान, उपाध्यक्ष प्रसन्नध्वज प्रधान, सचिव कविरध्वज प्रधान, कोषाध्यक्ष भूवन मास्के ‘मुस्कान’ र सदस्यहरुमा मनराजा नकर्मी, जुगल डङ्गोल, राजु वैद्य र एरिना श्रेष्ठ रहेको कुरा थाहा भएको छ l

‘किङ अफ रोमाण्टिक मेलोडी’ को नामले समेत सर्वत्र परिचित अमर सर्जक / कलाकार प्रेमध्वज प्रधानको भौतिक शरीर हामीमाझ नरहे पनि नेपाली साङ्गीतिक क्षेत्रमा उहाँले गर्नुभएको योगदानलाई कालान्तरसम्म स्मरण गराईराख्ने, बार्षिक रुपमा या दुई दुई बर्षमा पुण्यतिथिको अवसर पारी नेपाली सङ्गीत क्षेत्रमा समर्पित एवं स्थापित होनहार सर्जक / कलाकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने, उहाँको साङ्गीतिक जीवन यात्रा, सङ्घर्ष र योगदानलाई जानकारी श्रोत केन्द्रको रुपमा उपलब्ध गराउने, उहाँको आत्मकथा र स्मृतिग्रन्थ प्रकाशन गर्ने, प्रतिभाशाली कलाकारहरुलाई अगाडि बढ्नका लागि सहयोग गर्ने र उहाँको बारेमा अध्ययन अनुसन्धान गर्नेहरुलाई सहयोग गर्ने लगायतका उद्देश्यले यस प्रतिष्ठानको स्थापना गरिएको कुरा समेत समारोहमा जानकारी गराईएको थियो l प्रतिष्ठानको मुख्य कार्यालय हाल संरक्षिका किरण प्रधानको निवास बैंक मार्ग, बागबजारमा रहेको थाहा भएको छ l

समारोहमा यादव खरेल, दुर्गालाल श्रेष्ठ, राजेन्द्र थापा, दिनेश अधिकारी, दीपक जंगम, मदनकृष्ण श्रेष्ठ, शम्भुजित बासकोटा, चूडामणि देवकोटा, दीप श्रेष्ठ लगायत गीत-सङ्गीत क्षेत्रका विशिष्ट व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने औपचारिक कार्यक्रम पश्चात लाइभ म्युजिकको साथमा उदेश श्रेष्ठले प्रेमध्वज प्रधानको सम्मानमा उहाँका केही कालजयी गीतहरुको प्रस्तुति दिएका थिए l कार्यक्रम नरेश भट्टराईले सञ्चालन गरेका थिए l