-तुलसी गिरी ‘भावुक’
उभिएर सितार बजाउने विश्वकै पहिलो महिलाको रुपमा प्रसिद्धि कमाएकी सितामैया राजचलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्तिथिमा आफ्नो प्रस्तुति दिन पाउनु जीवनकै एक अविश्मरणीय क्षण भएको कुरा बताएकी छिन् l
वुद्ध जयन्तिको अवसरमा नरेन्द्र मोदी पूजा अर्चनाका लागि लुम्बिनी आउने भएपछि लुम्बिनी विकाश कोषको आयोजनामा हुने साङ्गीतिक प्रस्तुतिका लागि सीतामैया लगायतको कलाकार टोली लुम्बिनी पुगेको थियो l
प्राप्त जानकारी अनुसार टोलीमा सुर सुधाका संस्थापक वरिष्ठ तबलावादक सुरेन्द्र श्रेष्ठ, वरिष्ठ गीतारवादक विकाश सुनुवार, वरिष्ठ बाँसुरीवादक रमण महर्जन, विश्वकीर्तिमानी सितारवादीका सीतामैया र गायिका सरस्वती खत्री सहितको पाँच सदस्यीय टोली लुम्बिनी पुगेको थियो l करिव एक घण्टाको प्रस्तुतिमा कलाकारहरुले नरेन्द्र मोदीको लागि एउटा हिन्दी र एउटा गुजराती गीतको गायन प्रस्तुति दिनुका साथै केही धुनहरु समेत बजाएका थिए l साङ्गीतिक प्रस्तुतिलाई नरेन्द्र मोदीले रुचीका साथ श्रवण गरेको र अगाडि आएर ताली बजाउँदै कलाकारहरुको प्रशंसा गरेको कुरा थाहा भएको छ l समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवा लगायतको उपस्थिति रहेको थियो l कलाकार टोली हिजै राजधानी फर्किसकेको छ l
आफू सुर सुधाको सदस्य नभए पनि दशकौंदेखि देश विदेशमा आफ्ना प्रस्तुतिहरु दिएर उच्च लोकप्रियता हासिल गरेको यस साङ्गीतिक समूहसँग जोडिएर प्रस्तुति दिन पाउँदा अत्यन्तै खुशी लागेको कुरा सितारवादीका सीतामैयाले बताएकी छिन् l