-तुलसी गिरी ‘भावुक’
अग्रज कलाकार टंक के.सी. र शम्भु कुमार मिलनको संयुक्त स्वरमा रहेको पूर्वेली लोक भाकामा आधारित गीत ‘फूलबारीमा भँमरा’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओमा टंक के.सी. र जित कटुवालको लिप्सिङ रहेको छ भने युधिर के. सी. र पूजा थापा के. सी. ले नायक नायिकाको भूमिकामा अभिनय गरेका छन् l
U-Dhir नामक युट्युब च्यानलबाट ३ दिन अघि मात्र रिलिज गरिएको यो म्युजिक भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन र महेश महराको सिनेम्याटोग्राफीमा छायाङ्कन भएको हो भने सम्पादन वीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटले गरेका हुन् l भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l ४० सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी त्यही बर्ष पहिलो लोकगीत ‘राम राम छ ए माया’ रेकर्ड गरी सङ्गीतको औपचारिक यात्रा सुरु गरेका सर्जक / कलाकार टंक के. सी. का हालसम्म सङ्कलन तथा स्वरमा लगभग २ सय गीत रेकर्ड भईसकेका छन् भने २ दर्जनजति गीति एल्बम पनि प्रकाशन भएका छन् l
गीत-सङ्गीतमा मात्र नभई साहित्यको क्षेत्रमा समेत टंक के. सी. को धेरै ठूलो योगदान रहेको छ l कवितासङ्ग्रह, लोकगीत सङ्ग्रह, दोहोरीगीत सङ्ग्रह, उपन्यास, लघु उपन्यास, लघु पुस्तिका, सामान्य ज्ञान लगायत धार्मिक तथा साँस्कृतिक विधाका गरी २ दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेका बहुआयामिक प्रतिभा के. सी. ले विभिन्न पत्रपत्रिका, स्मारिका र मुखपत्रहरुमा सम्पादक, स्तम्भकार र सल्लाहकारका रुपमा समेत आफ्नो जिम्मेवारी पूरा गरेका छन् l जसको कदरस्वरूप उनले विभिन्न समयमा साहित्य र सङ्गीत क्षेत्रबाट थुप्रै पुरस्कार एवं सम्मानहरु समेत पाएका छन् l साहित्यिक र साङ्गीतिक क्षेत्रका सङ्घ-संस्थाहरुका कार्यसमिति अध्यक्षदेखि सदस्य सम्मका विभिन्न पदमा रही महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका के. सी.लाई नेपाली सङ्गीत तथा साहित्यको क्षेत्रमा लामो समय अघिदेखि निरन्तर क्रियाशील एक अथक साहित्यिक / साँस्कृतिक योद्धाको रुपमा चिन्न सकिन्छ l