सुदूरपश्चिमको गौरव गाथा ‘बझाङमा जालपादेवी’

-तुलसी गिरी ‘भावुक’


सुदूरपश्चिमको साँस्कृतिक, धार्मिक एवं प्राकृतिक विविधता र मनोरमता समेटिएको गीत ‘बझाङमा जालपादेवी’ को भिडिओ सार्वजनिक भएको छ l सुदूरको लोकप्रिय साँस्कृतिक भाका देउडाको लयमा आधारित २८ मिनेट ३५ सेकेण्डको यो म्युजिक भिडिओ singer Umashankar Joshi युट्युब च्यानलबाट आजै डिजिटल बजारमा आएको हो l समग्र सुदूरपश्चिमकै कला-संस्कृति, प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरुको परिचय र महिमा, मौलिक तथा परम्परात्मक साँस्कृतिक कला र भेषभूषाको बारेमा वर्णन गरिएको यस गीतको भिडिओमा ड्रोनबाट खिचिएका मनमोहक पहाडी दृश्यहरुले गर्दा लगभग २९ मिनेट बितेको पत्तै हुँदैन l भिडिओलाई सुदूरपश्चिमको एउटा गीति वृत्तचित्रको रुपमा समेत अनुभव गर्न सकिन्छ l

भूमिराज धामीको शब्दरचना, उमा शंकर जोशीको सङ्गीत र विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको यस गीतमा उमा शंकर जोशी, भूमिराज धामी, टिका पुन, स्मृति शाही, राजेन्द्र बाजुराली र हंशराज धामीले स्वर दिएका छन् l

भिडिओ भीम थापाको निर्देशन, हरिश महराको सिनेम्याटोग्राफी, लोकेश भाटको दृश्य सम्पादन र वीरेन्द्र भाट ‘विपिन’ को कलर सम्पादनमा तयार भएको हो l भिडिओमा किशोर धामी, गंगा जोशी, रोजी कुँवर र हेमा थापाले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् भने अन्य दर्जनौं कलाकारहरुलाई समेत विभिन्न साँस्कृतिक प्रस्तुतिहरुमा देख्न सकिन्छ l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा तयार भएको यस भिडिओका निर्मात्री सीतादेवी धामी, अनिता पौडेल धामी र सीता जोशी हुन् l