-तुलसी गिरी ‘भावुक’
गीत-सङ्गीत क्षेत्रमा गीत रचना र सङ्गीतलाई प्रमुख विधा बनाएर लामो समयदेखि क्रियाशील रहेका लोकप्रिय सर्जक राजकुमार बगरले वियोगान्त भावको गीत ‘मनमा गहिरो घाउ छ के गरूँ’ को भिडिओ सार्वजनिक गरेका छन् l लोक लयमा आधारित यस गीतमा बगरकै शब्द, सङ्गीत र स्वर रहेको छ भने गीतको मिक्सिङ / माष्टरिङ पनि उनी स्वयमले नै गरेका हुन् l गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ l शब्दरचना र सङ्गीत सिर्जनामा झैं गायनकलामा पनि उत्तिकै अब्बल भईकन पनि राजकुमार बगरले गीत भने कमै गाउने गरेका छन् l
कारुणिक कथावस्तुमा निर्माण गरिएको यस भिडिओमा पत्नी वियोगको पीडामा मरेतुल्य बाँचिरहेको एक पुरुष पुन: सन्तान वियोगको पीडा झेल्न बाध्य भएको देखाईएको छ l पत्नीले संसार छाडेर गएपछि भएकी एउटी छोरीको सहारामा बाँचिरहेको पुरुष असिना पानी र हावाहुरीमा रुमल्लिइरहेको एउटा बटुवाको शिरमा चट्याङ परे झैं छोरीको वियोग पनि सहन बाध्य भएको छ l
कुमार के. सी. को निर्देशनमा निर्माण भएको यस भिडिओमा करन चैसिरको सिनेम्याटोग्राफी र विकाश ज्ञवालीको सम्पादन रहेको छ भने लोमश शर्मा, दिव्या न्यौपाने र बाल कलाकार एलिसा लम्सालले अभिनय गरेका छन् l भिडिओमा दिव्यालाई आमा र छोरी दुवै भूमिकामा देख्न सकिन्छ l भिडिओ २ दिन अघि Kumar KC नामक यु ट्युब च्यानलमा अपलोड भएको छ l