-तुलसी गिरी ‘भावुक’
विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ अब उपन्यासकारको रुपमा समेत चिनिने भएका छन् l उनले लेखेको उपन्यास ‘फरैना’ निकट भविष्यमै सार्वजनिक हुने कुरा थाहा भएको छ l केहीदिन अघि सन्तोषले उपन्यास ‘फरैना’ को प्रमोशनल गीत ‘हिमाल झुक्न सक्छ’ को भिडिओ आफ्नै अफिसियल यु ट्युब च्यानल ‘गोल्डेन क्रिएशन’ बाट सार्वजनिक गरेपछि बजारमा सो उपन्यासप्रतिको कौतुहलता छाएको छ l उपन्यासको आवरण सार्वजनिक गरेका सन्तोषले कथावस्तुको बारेमा भने हालसम्म कुनै कुरा सार्वजनिक गरेका छैनन् l आवरण तस्बीर र प्रमोशनल गीतको आधारमा सो उपन्यास तराई भेगकी एक निम्नवर्गीय महिलाको सङ्घर्ष र साहसिक कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ l
‘हिमाल झुक्न सक्छ’ गीत सन्तोषको आफ्नै शव्दरचना, सङ्गीत र स्वरमा रहेको छ l गीतमा सुष्मा लिम्बू र दिपा तामाङले सहगायन गरेका छन् l जसमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ भने मिक्सिङ/माष्टरिङ प्रकाश मिश्रले गरेका हुन् l हेम प्रभासको निर्देशनमा निर्मित यस भिडियोमा राज पोखरेलको सिनेम्याटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ l
२०५६ सालमा अर्जुन मिलनको शब्दमा ‘जाऊँ न माया उँधै सलल’ रेकर्ड गरी औपचारिक सङ्गीत यात्रा सुरु गरेका सन्तोषको फुटकर बाहेक एकल सङ्गीतमा ४ दर्जनभन्दा बढी गीति एल्बम बजारमा आईसकेका छन् भने ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र, आउँछु भनि निष्ठुरीले भर किन पार्नु, तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो, तिम्रो दिलमा चोट लाग्दा, किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै, तिमीले हाँसो लुटी लग्यौ रुँदैरुँदै बाँचेकी छु, तिमीलाई सञ्चो छैन भन्ने खबर पाएँ मैले, परेलीको वर्षातले छातीभित्र पहिरो गयो, तिम्रै यादमा भित्रभित्रै जलिजली बाँचेकी छु, कोपिलामा सुन हुन्छ’ लगायतका गीत सङ्गीत क्षेत्रमा सर्वाधिक लोकप्रियको सूचीमा रहेका छन् l यसअघि उनका ‘आँशु’ (गजलसङ्ग्रह-२०६२) र ‘अधुरो सपना’ (लघु कथासङ्ग्रह-२०६८) पुस्तक प्रकाशन भएका छन् l













 
				
				 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							