१ सय ५० भन्दा बढी ड्रेस परिवर्तन भएको म्युजिक भिडिओ सार्वजनिक  

-तुलसी गिरी ‘भावुक’


विश्वकीर्तिमानी गीतकार डा. डी. आर. उपाध्याय र प्रतिमा विष्टको अभिनय रहेको, १ सय ५० पटक भन्दा बढी ड्रेस परिवर्तन गरिएको म्युजिक भिडिओ सार्वजनिक भएको छ । भिडिओ केहीदिन अघि भक्तपुरको अनन्त लिङ्गेश्वर नगरपालिका-१३ मा पर्ने घ्याम्पे डाँडामा छायाङ्कन गरिएको थियो ।

डा. उपाध्यायकै शव्दरचना, देवेन्द्र नेवाको सङ्गीत संयोजन तथा सागर अधिकारी ‘शरद’ को सङ्गीत तथा स्वर रहेको यस गीतको भिडिओ माइकल चन्दको निर्देशनमा निर्माण भएको हो । ‘रुप अनेक’ बोल रहेको यस गीतको मिक्सिङ / माष्टरिङ सन्तोष पौडेलले गरेका हुन् । उत्सव दाहालको सिनेम्याटोग्राफीमा छायाङ्कन भएको यस भिडिओमा शिलन लम्सालको सम्पादन रहेको छ । भिडिओ आजै DR Music & Creations युट्युब च्यानलमा अपलोड गरिएको छ ।

‘मैले हरेक समय केही फरक सोचका साथ विभिन्न गीत प्रकाशन गरिरहेको छु l तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन् । केही फरक सोचका साथ यो भिडिओ निर्माण गरिएको हो l एउटै गीतको भिडिओमा १ सय ५० ड्रेस परिवर्तन अहिलेसम्म विश्वमै भएको छैन l हामीले त्यो भन्दा बढी नै गरेका छौँ’ डा. उपाध्यायले भन्नुभयो ।

गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ आईसकेका छन् ।

यसअघि गीत सङ्गीत र अन्य विधामा गिनिज बुक रकेर्ड सहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८ मा थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ ।

यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ छिट्टै सार्वजनिक गर्ने बताउनुभयो ।