बहुआयामिक सर्जक / कलाकार टंक के. सी. को ‘पूर्बै घुमेर’

-तुलसी गिरी ‘भावुक’


वरिष्ठ गायक / सङ्गीतकार टंक के. सी. र प्रेम थुलुङको स्वरमा रहेको पूर्वेली टिपिकल भाकाको लोकगीत ‘पूर्बै घुमेर’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ U-Dhir नामक युट्युब च्यानलबाट केहीदिन अघि बजारमा आएको हो l गीतमा शान्ता के.सी. को लय सङ्कलन रहेको छ l वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन र महेश महराको सिनेम्याटोग्राफीमा भिडिओको छायाङ्कन भएको हो l भिडिओमा गायक टंक के.सी.का साथै जित कटवाल, युधिर के. सी. र पूजा थापा के. सी. लाई देख्न सकिन्छ l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यो भिडिओ वीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटले सम्पादन गरेका हुन् l

अग्रज कलाकार टंक के. सी. ले २०४० सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी त्यही बर्ष पहिलो लोकगीत ‘राम राम छ ए माया’ रेकर्ड गरेका थिए l हालसम्म उनका सङ्कलन तथा स्वरमा लगभग २ सय गीत रेकर्ड भईसकेका छन् भने २ दर्जनजति गीति एल्बम पनि प्रकाशन भएका छन् l

टंक के. सी. को जन्म आजभन्दा ६२ बर्ष अघि इलाम जिल्लाको तत्कालिन गजुरमुखी गाबिस-५ निवासी पिता चन्द्र बहादुर खड्का र माता टेक कुमारी खड्काको परिवारमा पहिलो पुत्र सन्तानको रुपमा भएको थियो l न्वारानको नाम टेकनाथ र नागरिकतामा टेक प्रसाद भएपनि सङ्गीत र साहित्यको क्षेत्रमा उनी टंक के. सी. को नामले प्रख्यात भएका हुन् l आर्थिक रुपमा सम्पन्न परिवारमा जन्म भएको कारणले उनको बाल्यकाल सुखमय नै रह्यो l सानैदेखि सङ्गीत र साहित्यप्रति गहिरो अभिरुची भएका कलाकार टंक, गाउँघर तथा स्कूलमा आयोजना हुने साङ्गीतिक कार्यक्रम, बिहे र दशैं-तिहार जस्ता पर्वहरुमा नाच्न-गीत गाउन अग्रसर भईरहन्थे l त्यस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरुमा उनी पुरस्कार जितिरहन्थे l झापाका स्कूलहरुमा केहीबर्ष शिक्षण पेशा समेत अंगालेका के. सी. २०३६ सालमा रेडियो नेपालले आयोजना गर्ने लोकगीत सम्मेलनको लागि मेची अञ्चलबाटै छनोट भएर सहभागिताका लागि राजधानी आएका थिए l त्यही सफलताको कारण ‘ए मैले पनि केही गर्न सक्ने रैछु भन्ने’ उत्साह बढेको र थप आत्मविश्वासका साथ सङ्गीत कर्ममा अगाडि बढेको अनुभव छ सर्जक / कलाकार के. सी. सँग l

गीत-सङ्गीतमा मात्र नभई साहित्यको क्षेत्रमा समेत टंक के. सी. को धेरै ठूलो योगदान रहेको छ l कवितासङ्ग्रह, लोकगीत सङ्ग्रह, दोहोरीगीत सङ्ग्रह, उपन्यास, लघु उपन्यास, लघु पुस्तिका, सामान्य ज्ञान लगायत धार्मिक तथा साँस्कृतिक विधाका गरी २ दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेका बहुआयामिक प्रतिभा के. सी. ले विभिन्न पत्रपत्रिका, स्मारिका र मुखपत्रहरुमा सम्पादक, स्तम्भकार र सल्लाहकारका रुपमा समेत आफ्नो जिम्मेवारी पूरा गरेका छन् l जसको कदरस्वरूप उनले विभिन्न समयमा साहित्य र सङ्गीत क्षेत्रबाट थुप्रै पुरस्कार एवं सम्मानहरु समेत पाएका छन् l साहित्यिक र साङ्गीतिक क्षेत्रका सङ्घ-संस्थाहरुका कार्यसमिति अध्यक्षदेखि सदस्य सम्मका विभिन्न पदमा रही महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका के. सी.लाई नेपाली सङ्गीत तथा साहित्यको क्षेत्रमा लामो समय अघिदेखि निरन्तर क्रियाशील एक अथक साहित्यिक / साँस्कृतिक योद्धाको रुपमा चिन्न सकिन्छ l