आफ्नै वियोगान्त गजलमा हमालको जोडी बनिन् शान्ति शर्मा ।

-प्रकाश सुवेदी


गजलकार शान्ति शर्माको रचनामा रहेको ‘बिरानो शहरमा’ बोलको गजलको भिडिओ यही चैत्र ११ गते शान्ति शर्मा युट्यूव च्यानल मार्फत नेपाली सङ्गीत बजारमा सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको सङ्गीत र  देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको यस गीतमा सुगम स्वरका धनी गायक स्वरुपराज आचार्यको स्वर रहेको छ ।

अकेष्टिक इन्टरनेशनल नेपालमा रेकर्डिङ भएको यस गजललाई प्रकाश मिश्रले मिक्सिङ तथा माष्टरिङ गरेका छन् । गजलको मर्म अनुसार प्रेम, मिलन र विछोडका विषयवस्तुलाई कलात्मक रुपमा उतारिएको यस भिडिओमा लोकप्रिय कलाकार राजेश हमालको साथमा सर्जक शान्ति शर्मा स्वयं, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको जीवन्त अभिनय रहेको छ । निशान घिमिरेको निर्देशन तथा सम्पादनमा तयार गरिएको यो भिडिओ पछिल्लो समयका चर्चित क्यामेरामेन मुकेश हुमागाईँले छायाङ्कन गरेका हुन् ।