सङ्गीत प्रतियोगिताको घोषणा, सर्वोत्कृष्ट सङ्गीतकारलाई नगद रू. ५० हजार  

-तुलसी गिरी ‘भावुक’


‘तपाईंको सङ्गीतकार बन्ने रहर हाम्रो उत्कृष्ट सङ्गीत पस्किने रहर’ भन्ने नाराका साथ प्रसाईसन इन्टरटेनमेन्टको आयोजनामा ‘प्रसाईंसन सङ्गीत प्रतियोगिता २०७९’ को आयोजना हुने भएको छ । क्षमता भएर पनि अवसरबाट बञ्चित रहेका प्रतिभाहरुप्रति मध्यनजर राखेर यस प्रतियोगिताको आयोजना गरिएको कुरा आयोजक संस्था प्रसाईसन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक एवम् गीतकार/गजलकार चन्द्र प्रसाई ‘परिष्कृत’ ले जानकारी गराएका छन् ।

प्रतिस्पर्धामा सहभागी हुन चाहने सङ्गीतकारहरुले चन्द्र प्रसाई ‘परिष्कृत’को शब्दरचनामा रहेको गीत`जीवनले रुझायो´ लाई सङ्गीत गरी आफ्नै स्वरमा भिडिओ रेकर्ड गरेर आगामी बैशाख १५ गतेभित्र आयोजक संस्थाको ईमेल prasaisonentertainment@gmail.com मा mp4 भर्सनमा पठाउनुपर्ने छ  ।

आयोजकले दिएको जानकारी अनुसार प्रथम हुने सङ्गीतकारलाई राजधानीमा एक कार्यक्रमको आयोजना गरी नगद रू.५० हजार र प्रमाणपत्र सहित पुरस्कृत गरिने छ भने सो गीत उपयुक्त गायक / गायिकाको स्वरमा रेकर्ड गरिनेछ । यस सङ्गीत प्रतियोगिताको निर्णायक मण्डलमा विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्य रहेको कुरा थाहा भएको छ । यस प्रतियोगिता सम्बन्धी थप जिज्ञाशा भएमा निर्णायक सन्तोष श्रेष्ठलाई ९८५१०३४६२६ मा सम्पर्क गर्न सकिने छ ।  

गीत: ‘जीवनले रुझायो’
 
म आफैँ रूझेँ कि जीवनले रुझायो
आँखाको आँसुले मुटु नै भिजायो

यो माया भन्नु नै रहेछ विचित्र
धेरै छन् गुनासा सम्बन्ध भित्र
चर्केर माया सिसाझैँ बिझायो
आँखाको आँसुले मुटु नै भिजायो

छ पिडा मनमा असह्य दुख्छ
दुख्छ धेरै दुख्छ खै किन दुख्छ
दुखेको मनले विरह सुनायो
आँखाको आँसुले मुटु नै भिजायो