-तुलसी गिरी ‘भावुक’
विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको शव्दरचना, सङ्गीत र स्वरमा रेकर्ड भई उहाँकै निर्देशन एवं अभिनयमा छायाङ्कन भएको ‘चाँदनी चाँदनी’ बोलको गीतको भिडिओ रिलिज भएको छ ।l केहीदिन अघि साँखुस्थित एउटै झोलुङ्गे पुलमा छायाङ्कन भएको यस भिडिओमा डा. उपाध्यायलाई समृद्धि श्रेष्ठले अभिनयमा साथ दिएकी छिन् । एकै व्यक्तिको शब्द, सङ्गीत, स्वर, निर्देशन र अभिनय समेत रहेको एवं एउटै झोलुङ्गे पुलमा छायाङ्कन भएको यो विश्वकै पहिलो साङ्गीतिक कृति भएको कुरा जानकारीमा आएको छ । यो गीत तथा भिडिओ नयाँ विश्व रेकर्डकै लागि तयार पारिएको कुरा सर्जक डा. उपाध्यायले बताउनुभएको छ ।
युगल स्वरको यस प्रेम गीतमा गायक उपाध्यायलाई ममता गुरुङले स्वरमा साथ दिएकी छिन् भने पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन र कुमार के. सी. को मिक्सिङ / माष्टरिङ रहेको छ । आजै DR Music & Creations बाटडिजिटल बजारमा आएको यो भिडिओ उत्सव दाहालको सिनेम्याटोग्राफी र शिलन लम्सालको सम्पादनमा तयार भएको हो । अरुले भन्दा भिन्न र अनौठा काम गरेर गीत-सङ्गीत एवं साहित्यको क्षेत्रमा ८० विश्व रेकर्ड कायम गरिसक्नुभएका उपाध्यायका छिट्टै १ सय ३ विश्व रेकर्ड पुग्ने कुरा पनि जानकारीमा आएको छ
डा. उपाध्यायका २४ एल्बमका सयौं गीत तथा भिडिओहरु स्रोता/दर्शकमाझ आईसकेका छन् । यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पनि पाठकमाझ आएका छन् । उहाँको नयाँ उपन्यास ‘भाइरस लभ’ र अन्य चार वटा गीति एल्वम पनि छिट्टै सार्वजनिक हुने कुरा थाहा भएको छ ।