उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । कुलमान स्वयम्को उपस्थितिमा राज के गोश्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीतको भिडिओ हालै सार्वजनिक गरिएको हो । गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गरेकी हुन् भने सङ्गीत मानव सुवेदीको रहेको छ ।
नेपाली टचको प्रस्तुतिको रहेको सो म्युजिक भिडिओ सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरु राजेश पायल राई, सुगम पोखरेल, शिव परियार र धर्मेन्द्र सेवानले गायक गोश्वामीलाई शुभकामना दिएका थिए ।
गीतको भिडिओले गाउँमा बिजुली ल्याउन सङ्घर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गरेको छ । कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपूरो काम पूरा गरेको देखाइएको छ । सुरक्षा पन्तकै पटकथा रहेको सो भिडिओलाई मानव सुवेदीले निर्देशन गरेका हुन् ।
ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत् सार्वजनिक भएको सो भिडिओमा सुशील सापकोटाको छायाङ्कन छ भने सम्पादन मानव स्वयंको रहेको छ ।