नेपाल चलचित्र कलाकार सङ्घले एक विज्ञप्ति प्रकाशित गरी सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि. बाट नेपाली चलचित्र क्षेत्रका विशिष्ट कलाकारहरु पीडित भएको र दोषीलाई कारवाही गरी सो सहकारीमा वचत गरिएको कलाकारहरुको रकम असुलउपर गरिदिन सम्बन्धित निकायलाई अपिल गरेको छ l
हिजो प्रकाशित सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – ‘विशिष्ट चलचित्रकर्मी वसुन्धरा भुसाल, नेपालको पहिलो रङ्गीन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंह, अभिनेत्री अञ्जु कारंञ्जीत लगायत सयौं नागरिक सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि.को कारणबाट पीडित हुन पुगेकोमा नेपाल चलचित्र कलाकार सङ्घको ध्यान आकृष्ट हुन पुगेको छ । उक्त सहकारीमा चलचित्रकर्मी लगायत सयौं नागरिकले करोडौं रकम बचत गरेका थिए । संस्थाका सञ्चालकहरु बिशेष गरेर इच्छाराज तामाङ लगायत बिरुद्ध रकम असुल उपर गराइपाउँ भनि पीडितहरु कानुनी उपचारमा जानु भएको छ । यस सम्बन्धमा नेपाल सरकारले चासो दिएर पीडितहरुलाई न्याय दिलाउन र दोषीमाथि कार्वाही गर्न हामी जोडदार माग गर्दछौं ।
सोही सहकारी संस्थामा भुवन चैत्य बसुन्धरा फाउण्डेसनको अक्षय कोषको रकम पनि राखिएको थियो । वर्षेनी एक लाख पचास हजार रुपैयाको पुरस्कार बितरण गरिंदै आएकोमा हाल सहकारीबाट रकम नपाएकाले सो पुरस्कार वितरण कार्यलाई पनि असर परेको छ । मुलुकका नागरिक एवं चलचित्रकर्मीमाथि परेको आर्थिक पीडालाई समाधान गरी न्याय दिलाउन सम्बन्धित निकायका सबै पक्षसँग हामी जोडदार अपिल गर्दछौं ।’