जगतमर्दनको सम्झनामा स्मृति ग्रन्थ र गीत सङ्ग्रह एकैसाथ विमोचन


अमर श्रष्टा जगतमर्दन थापाको ८६ औं जन्म जयन्तिको अवसरमा स्मृति ग्रन्थ ‘स्वर साधक’ तथा उहाँद्वारा स्वरवद्ध गीत सङ्ग्रह ‘कुनै भेदभाव छैन’ एक समारोहबीच  विमोचन भएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा सङ्घका अध्यक्ष शुभ मुकारुङको अध्यक्षता तथा वरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यमा उक्त स्मृति ग्रन्थ तथा गीति एल्वम विमोचन भएको हो ।

स्मृति ग्रन्थ ‘स्वर साधक’ का सम्पादक विवश वस्ती, प्रकाशक तथा जगतमर्दन थापाका सुपुत्र मोहितमर्दन थापा, उहाँका परिवारका सदस्यहरु, गीतकार सङ्घ नेपालका कार्यसमितिका पदाधिकारीहरु तथा सञ्चारकर्मीहरुको उपस्थितिमा उक्त स्मृति ग्रन्थ तथा गीति सङ्ग्रह विमोचन भएको हो ।

उक्त अवसरमा प्रमुख अतिथि यादव खरेलले जगतमर्दन थापाको व्यक्तित्व र  गीतियात्राको बारेमा चर्चा गर्दै उहाँको सृजना तथा कृतिहरुलाई सङ्ग्रह गरेर राख्नुपर्ने बताउनुभयो । गीतकार सङ्घ नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति शुभ मुकारुङले गीतकार सङ्घ नेपालले ‘जगतमर्दन थापा स्मृति गीतकार सङ्घ नेपाल अक्षय कोष’ स्थापना भएको र यही संस्थाले नै उहाँका गीति सृजनाको बारेमा खोज, अनुसन्धान गर्ने बताउनुहुँदै जगतमर्दन थापाले नेपाली गीति क्षेत्र र साहित्यको क्षेत्रलाई दिनुभएको योगदानको चर्चा गर्नुभयो ।

स्मृति ग्रन्थ ‘स्वर साधक’ मा गीत, सङ्गीत र  साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरु यादव खरेल, सरुभक्त, विश्व बल्लभ, उषा मंगेश्कर, एस्पी कोइराला, वसन्त वित्यासी थापा, मोहन हिमांशु थापा लगायत ७० जना भन्दा बढिका  अमर श्रष्टा जगतमर्दन थापासँग जोडिएका विभिन्न प्रसङ्गहरु समेटिएका छन् भने गीति एल्वम ‘कुनै भेदभाव छैन’ भित्र इन्द्रध्वज खड्का, हरिराम पौडेल, बसन्त वित्यासी थापा र  तुलाराम थापाद्वारा लिपिवद्ध गीतहरु समेटिएका छन् l  उक्त गीतहरुमा शक्ति बल्लभ, मनोहर सुनाम, मदन सिंह नेपाली र जेम्स प्रधानको सङ्गीत रहेको छ ।

गीतकार सङ्घ नेपालको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै गीतकार सङ्घ नेपालका उपाध्यक्ष बसन्त वित्यासी थापाले बृहत् कार्यक्रमको सोच र योजना भएपनि कोरोना कहरको कारणले गीतकार सङ्घ नेपालका कार्यसमिति पदाधिकारी, केही पारिवारिक सदस्य र केहि सञ्चारकमर्मीहरुको उपस्थितिमा कार्यक्रमको आयोजना गर्नुपरेको बताउँदै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो l उक्त कार्यक्रम सञ्चारकर्मी हरिराम पौडेलले सञ्चालन गर्नुभएको थियो ।