-तुलसी गिरी ‘भावुक’
नेपाली सङ्गीत क्षेत्रमा ‘मेलोडी सुल्तान’ को उपनामले प्रसिद्धि कमाएका गायक / सङ्गीतकार शिशिर योगीले केही घण्टा अघि मात्र आफ्नो सङ्गीत / स्वरको गीत ‘मरिलानु के नै छ र ?’ को भिडिओ सार्वजनिक गरेका छन् l पुस्तक प्रकाशन क्षेत्रका प्रतिष्ठित व्यावसायी एवं गीतकार एस. पी. सापकोटाको शब्दरचनामा रहेको यस गीतमा बी. बी. अनुरागीको म्युजिक एरेन्ज रहेको छ l ‘प्रिज्म डिजिटल स्टुडिओ’का प्राविधिक गोविन्द अनेकले रेकर्ड गरेको यो गीत श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका हुन् l
म्युजिक भिडिओ निर्माणको क्षेत्रमा सिनेम्याटोग्राफी, निर्देशन र सम्पादन तिनै विधामा आफ्नो कौशलता देखाईरहेका बहुआयामिक प्रतिभा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन एवं सम्पादन रहेको यो भिडिओका छायाकार भने महेश महरा हुन् l ‘वर्ल्डकभर मिडिया‘को पोष्ट प्रोडक्शनमा निर्मित यस भिडिओमा लोकेश भाटको ग्राफिक्स रहेको छ l
मानवीय संवेदना, जीवनजगतका भोगाई र अनुभूतिहरुका गहन एवं शाश्वत् भाव भएका गीतमा सङ्गीत भर्न र स्वर दिन विशेष रुची राख्ने शिशिर योगीले यसपटक पनि समग्र मानव जातिलाई सत्कर्मप्रति सचेत गराउने आध्यात्मिक चेतनाले भरिएको गीतको भिडिओ सार्वजनिक गरेका छन् l छिट्टै हल्किने र पत्तै नपाई अल्पायुमै ओईलाउने गीतप्रति फिटिक्कै आकर्षित नहुने योगी यही विशेषताका कारण पनि श्रोता, गीतकार र सङ्गीतकारहरु माझ फरक रुपमा चिनिएका हुन् l धनसम्पत्ति र मोजमस्ती क्षणिक हुन् l घमण्ड, लोभ र इर्ष्या नगरौँ l मृत्यु अवश्यम्भावी छ l गीतले यही अकाट्य सत्यलाई पुन: उजागर गरेको छ l