चलचित्र विकास बोर्डबाट नेपाली चलचित्र क्षेत्रले केही उल्लेखनीय सक्रियता र योजनागत गति देखिन थालेको छ। बोर्डले एकैसाथ चार स्थानमा कार्यक्रम सञ्चालनमा ल्याउनुका साथै दीर्घकालीन नीति, पूर्वाधार र प्रणालीगत सुधारका कदमहरू पनि अघि बढाएको छ। वर्तमान समयमा बोर्डको सहकार्यमा देशका विभिन्न भौगोलिक र सांस्कृतिक क्षेत्रहरूमा चलचित्रसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालनमा छन्
१. काठमाडौँमा ‘Women Make Films’ कार्यशाला
महिलाहरूको फिल्म क्षेत्रमा सहभागिता र क्षमताविकासका लागि दुई हप्ते कार्यशाला संचालनमा छ। यो कार्यक्रम महिला निर्माताहरू, निर्देशकहरू र प्राविधिकहरूलाई फिल्म निर्माणका व्यावहारिक पक्षहरूमा सशक्त बनाउन केन्द्रित छ। कार्यक्रमको आयोजना शान्ता नेपाली प्रोडक्सनले गरेको हो ।
२. पोखरामा ‘Lights Camera Workshop’
नयाँ पुस्तालाई फिल्म निर्माणको प्रविधि र अभ्यासमा परिचित गराउने उद्देश्यले पोखरामा कार्यशाला सुरु गरिएको छ, जुन वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ। यसले क्षेत्रीय प्रतिभाहरूलाई केन्द्रसम्म ल्याउने प्रयासस्वरूप लिइएको छ। कार्यक्रमको आयोजना गु?ङ चलचित्रकर्मि संघले गरेको हो ।
३. रारामा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
सुदूरपश्चिम कर्णाली क्षेत्रको प्राकृतिक र सांस्कृतिक विविधतालाई फिल्ममार्फत प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव सञ्चालनमा छ। अध्यक्ष दिनेश डीसी आफैँ महोत्सवमा सहभागी हुन निर्देशक दिपाश्री निरौला तथा कलाकार प्रदिप खड्काको साथमा प्रथान गरेका छन् ।
४. दोलखामा थामी समुदायको विवाह संस्कृति सम्बन्धी डकुमेन्ट्री छायाङ्कन
लोपोन्मुख जातीय संस्कृतिको दस्तावेजीकरण गर्दै, बोर्डको सहकार्यमा थामी जातिको विवाह परम्परा सम्बन्धी वृत्तचित्र निर्माण भैरहेको छ। यसले विविध सांस्कृतिक सम्पदाको संरक्षणमा बोर्डको भूमिका देखाउँछ। यसको निर्माण भने थामि चलचित्र संघले गरेको छ ।
दीर्घकालीन योजना कार्यान्वयनतर्फ
यी क्रियाशील कार्यक्रमहरूका अतिरिक्त चलचित्र विकास बोर्डले विगतमा थाँती परेका केही नीतिगत र पूर्वाधारसम्बन्धी दीर्घकालीन योजनाहरूलाई पनि मूर्तरूप दिन थालेको छ।
चलचित्र विकास ऐन संसदमा
वर्षौंदेखि अपेक्षित रहेको चलचित्र विकास ऐन अन्ततः संसदमा प्रस्तावित भएको छ। यसले चलचित्र उद्योगलाई कानुनी संरचना, संस्थागत स्पष्टता र दीर्घकालीन स्थायित्व दिनेछ। नीति निर्माणदेखि वितरण, लगानी र सेन्सरसम्मका विषयहरू अब विधिसम्मत प्रक्रियामा आउने छन्।
चलचित्र स्टुडियो निर्माण प्रक्रिया सुरु
‘राष्ट्रिय चलचित्र स्टुडियो’ निर्माणको प्रक्रिया अन्ततः बनेपामा यसै महिनाभित्रे शिलान्यास गर्ने तयारी गरिएको छ । यो स्टुडियो निर्माणले फिल्म निर्माणमा आवश्यक प्रविधि, सेट र पोस्ट(प्रोडक्सन पूर्वाधारको अभावको समाधानतर्फ पहिलो ठोस कदम हुनेछ।
बक्स अफिस प्रणाली कार्यान्वयन नजिक
पटक–पटक स्थगित हुँदै आएको बक्स अफिस प्रणाली अब कार्यान्वयनको अन्तिम तयारीमा पुगेको छ। एकपटक प्रणाली लागू भएपछि टिकट बिक्री, दर्शक तथ्यांक र आम्दानी सम्बन्धी यथार्थपरक डाटा उपलब्ध हुनेछ, जसले पारदर्शिता र व्यवसायिक विश्वसनीयता बढाउनेछ। यसको अनलाईन निर्माण प्रक्रिया सम्पन्न गरेर यसै महिना भित्र उद्घाटन गर्ने तयारी छ ।
अनलाईन सर्भीसको निर्माण पूरा, बैशाखमै उद्घाटन
चलचित्र विकास बोर्डले गर्ने सम्पुर्ण कामलाई अनलाईनबाट नै घरै बसेर गर्न मिल्ने गरि अनलाईन सर्भिस तयारी गरेको छ । यसबाट सेवाग्राहीले होम सर्भिस सेवा पाउने गरि चलचित्र विकास बोर्डले वेवसाईटको निर्माण प्रक्रिया पुरा गरेको छ । यो सेवा पनि बैसाखभित्र उद्घाटन गर्ने तयारी छ ।
ईलाममा बाल चलचित्र महोत्सवको तयारी
जेठको पहिलो हप्तामा “देशको लागि सिनेमा” भन्ने नारासहित बाल चलचित्र महोत्सवको तयारी ईलाममा भइरहेको छ, जसले सिनेमा मार्फत बालबालिकामा सृजनात्मक चेतना र सांस्कृतिक ज्ञान अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
