गीतकार शिव पलाँसले आफ्नै रचना र स्वरमा नयाँ गीत ‘तिम्रो सुनको हात्ती’ सार्वजनिक गरेका छन् । केशव बादीको सङ्गीत र सङ्गीत संयोजन रहेको यो गीतको भिडिओ पलाँस क्रियशन नामको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
करिब दुई दशकदेखि साहित्यमा निरन्तर क्रियाशील पलाँसको गीतसङ्ग्रह ‘माया गर्नुको अर्थ’ प्रकाशित छ । त्यसैगरि उनका चार दर्जन जति गीतहरु रेकर्ड भएर बजारमा आइसकेका छन् । आगो भन्ने जान्दा जान्दै, माया गर्नुको अर्थ, बेहोशीमै छोडी गयौ, गन्दै जाँदा पिरतीमा, खोकी लाग्दा हररो आदि उनका लोकप्रिय गीत हुन् ।
अखबारी लेखनमा समेत सक्रिय पलाँसले गीतमाथि आइरहेका प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताएका छन् । मान्छे पैसामुखी र बनावटी बन्दै जाँदा मानवता हराउँदै गएको बिषयलाई गीतले उठान गर्न खोजेको छ । गीतबाहेक पलाँस कविता, मुक्तक र गजल लेखनमा पनि कलम चलाउँछन् ।
