नेपाल चलचित्र कलाकार सङ्घले एक प्रेस विज्ञप्ति प्रकाशित गरी हालै बसेको कार्यकारिणी समितिको बैठकबाट संघले कलाकारहरुलाई अर्पण गर्दै आएका पुरस्कारको निणर्य गरिएको कुरा जानकारी गराएको छ । नेपाली चलचित्रमा अभिनय कर्म गरेर लामो समय निरन्तर योगदान पुर्याएका चलचित्र कलाकारहरुको योगदानको कदर स्वरुप सम्मानका लागि संघले बसुन्धरा भुसाल अध्यक्ष रहेको कार्यकाल वि.स. २०५५ सालमा ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’ को स्थापना गरेको हो ।
प्रकाशित विज्ञप्ति अनुसार वि.सं. २०७८ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार विगत ५ दशक देखि अभिनय गर्दै आउनुभएका चरित्र अभिनेता मुकुन्द किशोर भट्टराईलाई, वि.सं. २०७९ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार ४ दशकदेखि अभिनय गर्दै आउनुभएका चरित्र अभिनेता लय संग्रौलालाई र वि.सं २०८० सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार विगत ४ दशकदेखि अभिनय गर्दै आउनुभएका अभिनेता पुरण जोशीलाई अर्पण गर्ने निर्णय गरिएको छ ।
यसैगरी रमेश बुढाथोकी अध्यक्ष रहेको कार्यकाल वि.सं २०६८ मा संघका संस्थापक संयोजक स्व. शान्ति मास्केको स्मृतिमा स्थापित स्व. शान्ति मास्के स्मृति पुरस्कार विगत ४ दशकदेखि अभिनय गर्दै आउनुभएकी अभिनेत्री गौरी मल्ललाई अर्पण गर्ने निर्णय गरिएको छ । नेपाल चलचित्र कलाकार संघ पुरस्कारको राशी जनही रु. ७५,०००।– (पचहत्तर हजार) रहेको छ। यसअघि नेपाल चलचित्र कलाकार संघ पुरस्कारबाट नीर शाह, बसुन्धरा भुसाल, भुवन चन्द, शिव श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रमेश बुढाथोकी, रविन्द्र खड्का, लक्ष्मी गिरी, शर्मिला मल्ल, हरिहर शर्मा, शकुन्तला शर्मा लगायतका विशिष्ट कलाकारहरु पुरस्कृत भईसक्नुभएको छ।
स्व. शान्ति मास्के स्मृति पुरस्कारको राशी रु. ५६,०००। (छपन्न हजार) रहेको छ । यसअघि यो पुरस्कारबाट मदनदाश श्रेष्ठ, आर पि पन्त, मिथिला शर्मा बोहरा लगायतका विशिष्ट कलाकारहरु पुरस्कृत भईसक्नुभएको छ । केही वर्ष अगाडि दिवंगत हुनुभएका कलाकार गोपाल राउतको सम्झनामा अमेरिकामा रहनुभएका कलाकार र लक्ष्मी शर्माले संघको रविन्द्र खड्का अध्यक्ष रहेको कार्यकालमा संघलाई प्रदान गर्नुभएको तीन लाख रुपैयाको अक्षयकोशबाट प्राप्त व्याजबाट यस वर्षदेखि रु. १०,००० । (दश हजार) को स्व. गोपाल राउत स्मृति पुरस्कार अर्पण गरिने निर्णय अनुरुप वि.सं २०८० सालको गोपाल राउत स्मृति पुरस्कार विगत ४ दशकदेखि अभिनय गर्दै आउनुभएका कलाकार रामकाजी घिमिरेलाई अर्पण गर्ने निर्णय गरिएको छ ।
नेपाल चलचित्र कलाकार संघले सालिन्दा पदान गर्दै आईरहेको सम्मान डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई अर्पण गर्ने पनि बैठकमा निर्णय गरिएको छ । यी सबै पुरस्कार र सम्मान चैत ४ गते आयोजना हुने वार्षिक साधारण सभामा अर्पण गरिने छ ।
