चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच जग्गा हस्तान्तरण सम्बन्धी सम्झौता

धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरण सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ। समारोहमा नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी बिच भएको सम्झौतामा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा, उपमेयर निराजन जंगम, चलचित्र विकास बोर्ड सदस्य केवल पीडित, तथा चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रविन्द्र खड्का आदिको उपस्थिति रहेको थियो ।

अध्यक्ष डिसीले यस अवसरमा बोल्दै धुलिखेलमा चलचित्र विकास बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गरे। उनले भने, ‘यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ। यहाँ प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर चलचित्र निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ ।’

नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि धुलिखेल नगरपालिकाले हरतरहले साथ दिने बताउँदै भने, ‘यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा उभ्याउने छ। पर्यटन प्रवर्द्धनसँगै  स्थानीय रोजगारी सिर्जना गर्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्नेछ ।’ नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय चलचित्र निर्माता तथा निर्देशकहरूलाई समेत आकर्षित गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाइने बोर्डले जनाएको छ  ।