चलचित्र विकास बोर्डद्वारा चलचित्र सम्बन्धि अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

चलचित्र विकास बोर्डले बोर्डको नवरस कक्षमा एक कार्यक्रम गर्दै चलचित्रसँग सम्बन्धित अध्ययन, अनुसन्धान एवं विद्वतवृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्ति वापतको रकम विद्यार्थीहरुमाझ कार्यक्रम गर्दै सम्बन्धित कलेजलाई हस्तान्तरण गर्नुभएको छ ।

अध्यक्ष डिसीले माध्यमिक र स्नातक तहका विद्यार्थीहरुको छात्रवृत्ति रकमको चेक ओस्कार ईन्टरनेशनल कलेजका संयोजक नवनिधि दाहाल र नेपाल फिल्म क्याम्पस तथा नेपाल सङ्गीत विद्यालयको तर्फबाट प्रिन्सीपल शिशिर उप्रेतीलाई हस्तान्तरण गर्नु भएको हो ।

विद्यार्थीहरुको छात्रवृत्तिको कार्यक्रम २०६१ सालबाट सुरु भएता पनि यसबर्षबाट अध्यक्ष दिनेश डिसीको वहाली पश्चात माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि पाउने व्यवस्था गरिएको हो । यस अघि विद्यावारिधिमा दुई जना, स्नातकमा १० जना र सर्ट कोर्षमा २ जनालाई दिने गरिएको भएता पनि यस बर्षबाट विद्यावारिधितर्फ ३ जनालाई, स्नातकमा १३ जनालाई र माध्यमिक तर्फ ५ जनालाई प्रदान गर्ने निर्णय गरिएको छ ।