‘लोजिमा’ सर्वोत्कृष्ट आदिवासी चलचित्र घोषित, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुरस्कार हस्तान्तरण

लिम्बू भाषामा निर्मित चलचित्र ‘लोजिमा’ सर्वोत्कृष्ट आदिबासी चलचित्र घोषित भएको छ । बुधबार शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यस फिल्मले ‘सर्वोत्कृष्ट आदिबासी फिल्म’को पुरस्कार प्राप्त गरेको छ । चलचित्र विकास बोर्डले आयोजना गरेको सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८० सालमा सार्वजनिक प्रदर्शनमा आएका फिल्मको प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मलाई १० विधामा पुरस्कार प्रदान गरेका थिए ।

२०८० मा सार्वजनिक भएको आदिबासी तथा मातृभाषी चलचित्रहरुमा ‘लोजिमा’ सर्वोत्कृष्ट आदिबासी चलचित्र घोषित भएको हो | समारोहमा उक्त चलचित्रका निर्देशक सागर सुब्बाले सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङबाट प्रामाण पत्र र राष्ट्रपति रामचन्द्र पौडेलबाट नगद रु. २५ हजार सहित ट्रफी ग्रहण गरेका थिए  l १२ औ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ( NAFF ) र अप्सना म्युजिक एण्ड फिल्मसमा सर्वोत्कृष्ट अवार्ड, दोश्रो राष्ट्रिय आदिवासी म्युजिक एण्ड फिल्म्स् अवार्ड २०८१ बाट चलचित्र लोजिमा सम्मानित् भइसकेको छ |

जीवन्त प्रेमकथा र लिम्बू भाषा-संस्कृतिको संरक्षण एवं प्रबर्धनका लागि चलचित्रले दिन खोजेको सन्देश प्रशंसा योग्य छ l सिक्किम र पूर्वी नेपालको विभिन्न स्थानमा गरी लगभग डेढ दर्जन विशेष शो सम्पन्न भई दर्शकहरुको सकारात्मक प्रतिक्रिया र अपार माया बटुलेको ‘लोजिमा’ ले विभिन्न स्थानको विशेष प्रदर्शनमा दर्शकको अपार साथ पाएको थियो l लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ l चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ l

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विशेष प्राविधिक सहयोगीको रुपमा निर्देशक वसन्त अधिकारीले साथ दिएका छन् l  चलचित्रमा सञ्जय अधिकारीको सम्पादन र अशोक राईको पार्श्व सङ्गीत रहेको छ भने साउण्ड डिजाइन मानषी किरणले र पोष्टर तथा स्टिकर डिजाइन आइडियल डिजाइनर्सका निर्देशक सुन्दर श्रेष्ठले गरेका छन् l सागर सुब्बाको कथा/निर्देशन रहेको यस चलचित्रको पटकथा/संवाद सागर केरुङ्ले लेखेका हुन् l

चलचित्रमा बिमला खजुम लिम्बूको अलावा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पहिम, नुनाम केरुङ, हस्त लिबाङ, सहाराहाङमा पन्धाक लिम्बू, सेरिना राई, बिनी सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवी लिम्बू, ज्ञानु खम्दाक, लगायतका कलाकारहरुको अभिनय रहेको छ l

यसैगरी चलचित्रमा निर्माता आशाहाङ आङ्बो र कार्यकारी निर्माता पम्फावती राई रहेका छन् भने मुख्य सहायक निर्देशकमा दीपक अधिकारी, छायाकार रविन्द्र बराल र मेकअप आर्टिष्ट नरेश खरेल रहेका छन् l अशोक लोहरुङ राईको म्युजिक एरेन्ज रहेको यस चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मसले गरेको हो भने र स्वराङ्कन एम. के. प्रोडक्सनमा भएको हो l