६ महादेशका ३६ यात्रा संस्मरण ‘संसारको सेरोफेरो’ बजारमा

-तुलसी गिरी ‘भावुक’

डा. चन्द्र गिरीको यात्रा संस्मरणको पुस्तक ‘संसारको सेरोफेरो’ प्रकाशित भएको छ l केही दिन अघि मात्र साहित्यपोस्ट प्रकाशनले सो पुस्तक बजारमा ल्याएको हो l विश्वको मेन्ग्रोबको नक्साङ्कन र अनुगमन गर्ने गुरुका रूपमा चिनिएका वातावरण सम्बन्धी विश्वप्रसिद्ध बैज्ञानिक एवं गीतकार डा. चन्द्र गिरीले यस पुस्तकमा ६ वटा महादेशका ३६ वटा यात्रा संस्मरणलाई रोमाञ्चक ढङ्गमा प्रस्तुत गरेका छन् l भूगोलको विविधताको दृष्टिकोणले यो पुस्तक बजारमा आएका आम यात्रा संस्मरणका पुस्तकहरु भन्दा फरक र विशेष छ  l

पुस्तकमा फरक फरक भूगोल र परिवेश, त्यहाँका मानिसहरुको धर्म, संस्कृति, जीवनशैली, खानपान, सम्बन्धित क्षेत्रको ऐतिहासिक पृष्ठभूमि र वर्तमानको अवस्था, त्यस क्षेत्रका रोचक एवं तीता-मीठा अनुभवहरु वर्णन गरिएको छ l हरेक संस्मरणमा पाठकले लेखकका फरक, आश्चर्य र घतलाग्दा अनुभूतिहरु मात्र पढ्दैनन्, सम्बन्धित ठाउँको बारेमा समग्र जानकारी समेत प्राप्त गर्दछन् l पढ्दै जाँदा आफैं विश्वयात्रामा भए झैं लाग्छ l हरेक संस्मरणहरु वृत्तचित्र झैं छन् l यथार्थ र अनुभूतिको दस्तावेज  यस पुस्तकलाई ‘यात्रा गाइड’ को रुपमा पनि परिभाषित गर्न सकिन्छ l

पुस्तकको बारेमा लेखकले भनेका छन्-‘संसारको सेरोफेरो’ पुस्तकसँगै घरमै बसेर एक अविस्मरणीय विश्व यात्रामा निस्किनुहोस् । ६ वटा महादेशका ३६ विभिन्न ठाउँहरूमा घुम्दा सङ्कलित अर्थपूर्ण अनुभवहरूको सँगालो हो यो । यो केवल एउटा यात्रा वृत्तान्त मात्र होइन, यो मानव आत्माको असीमित जिज्ञासा र साहसिक यात्राको उत्सव पनि हो । साधारण बोलचालको भाषामा लेखिएको यो पुस्तकले तपाईंलाई आफ्नो झोला प्याक गर्न र यात्रामा निस्कन प्रेरित गर्नेछ ।‘

पुस्तकमा ३६ वटा यात्रा संस्मरणहरू सङ्ग्रहित छन् । २ सय ५० पृष्ठको यस पुस्तकको मूल्य नेपालमा ४ सय ५० र अन्तर्राष्ट्रिय बजारमा १० अमेरिकी डलर रहेको छ । १२६ देशको भ्रमण गरेका डा. गिरीको गत वर्ष आत्मकथाको पुस्तक ‘मैले नदेखेको सपना’ प्रकाशन भएको थियो l