फ्रान्स र स्पेनमा नेपाल चिनाउँदै फर्कियो नेपाली कलाकार टोली

सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई विश्वसामु परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ले फ्रान्सको क्यासत्रेस (Castres), सैन्त गिरोन्स (Saint Girons), सैन्त जुलिएन (Saint Julien), विक सुर केरे (Vic Sur Cere) डक्स (Dax), लगायतका शहरहरु र स्पेनको लेस प्रेसेस (Les Preses) तथा वार्सीलोना (Barcelona) मा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर स्वदेश फर्किएको छ l  सो सांस्कृतिक मेलामा नेपाल सहित विश्वका विभिन्न ४५ देशका २ हजार भन्दा बढी कलाकारहरुले भाग लिएको कुरा थाहा भएको छ l मेला फ्रान्सका विभिन्न शहरहरुमा गत अगस्ट ३ देखि १८ तारिकसम्म र स्पेनमा अगस्ट १९ देखि अगस्ट ३१ तारिकसम्म चलेको थियो ।

नेपाली कलाकार टोली एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला ‘रामचन्द्र’ को नेतृत्व तथा ग्रुपकी निर्देशक शितल आचार्य ‘सीता’ को निर्देशनमा त्यसतर्फ गएको थियो भने नृत्य निर्देशन वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र के. सी. ले गरेका थिए । टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने झ्याउरे, तामाङ, मारुनी, थाली, सतार, धिमाल, शेब्रु, काल भैरब, बज्रपानी, लाखे, यति, सोरठी लगायतका नृत्यहरु प्रदर्शन गरेको कुरा ग्रुपकी निर्देशक शितल आचार्यले जानकारी गराएकी छिन् l

मेलामा ग्रुपका प्रमुख आरसी कोइराला ‘रामचन्द्र’, निर्देशक शितल आचार्य ‘सीता’, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र के. सी, वरिष्ठ वाध्यबादक धनेश्वर तिवारी, वरिष्ठ गायक राम प्रसाद पाण्डे, सपना महर्जन, उत्तम शर्मा, प्रमिला रिजाल, सुदन मान मुनिकार, कृष्ण रसाल, चूडामणि फुयाल, शर्मिला त़ामाङ, चाहना राना मगर, अनिशा श्रेष्ठ, रमेश प्रशाद पौडेल डिपि कोइराला, ग्रुपका प्रवक्ता प्रदीप तिमिल्सिना तथा बाल कलाकार सिराज कोइरालाले भाग लिएका थिए । करिव एक महिनासम्म विभिन्न शहरमा आयोजना भएको सो मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका कलाकारहरुले विशेष गरेर वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र के. सी. ले ३ बर्षदेखि ७० बर्ष सम्मका महानुभावहरुलाई नृत्य सिकाएका थिए । फ्रान्सको डक्स शहरमा भएको सांस्कृतिक झाँकीमा ४० हजार भन्दा बढी दर्शकले नेपालको झाँकीलाई उत्कृष्ट भनेका थिए l झाँकीका यति र लाखेसँग तस्बिर लिन तँछाडमछाड नै भएको थियो l त्यती मात्र कहाँ हो र बाल कलाकार (१९ महिने) सिराज कोइरालाको नमस्ते सहितको अभिवादनले ४० हजार दर्शक मोहित भएका थिए l  आयोजकहरुको सामाजिक सन्जालभरि बाल कलाकार सिराज कोइराला छाएका थिए।

सो अवसरमा ग्रुपकी निर्देशक शितल आचार्य ‘सीता’ ले दुबै देशका सम्बन्धित नगरपालिका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेटी नेपालमा सांस्कृतिक पर्यटन प्रवर्धन गर्न सकिने बारे र भविष्यमा सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा यस प्रकारका कार्यक्रम गर्न सकिने बताएकी थिईन् भने प्रवक्ता प्रदीप तिमिल्सिनाले दुबै देशका कला पारखीहरु जसले मेला अवधीभर नेपाली नृत्य र कला संस्कृतिको बारेमा जानकारी गराएका थिए ।

‘कतिपय राष्ट्रका नागरिकलाई नेपाल कहाँ पर्छ, सगरमाथा (एभरेष्ट) कहाँ छ, गौतम वुद्ध कहाँ जन्मे ? जस्ता कुरा समेत थाहा छैन l नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृति मार्फत विश्वभर राजदुतको काम गर्ने कलाकार तथा संस्थालाई राज्यले बेवास्ता गरेको हुँदा दु:ख लाग्छ । कला संस्कृतिलाई प्रबर्धन तथा सम्बर्धन गर्ने कलाकार राष्ट्रका सम्पत्ति हुन् भन्ने कुरा राज्यले बुझ्नु पर्दछ’ कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला ‘रामचन्द्र’ भन्छन् l