ढाका व्यावसायी कल्पना योङहाङ लिम्बूद्वारा ब्युटी एण्ड फेशन स्टुडियोको समुद्घाटन

दुलही ब्युटी एण्ड फेशन स्टुडियोको हात्तीगौंडा काठमाडौंमा हालै शुभारम्भ भएको छ l सानै उमेरदेखि मिहेनेती र सृजनशील साथै सफल ब्युटीसियन एवं फेसन डिजाइनर गोपिमाया थुलुङ सञ्चालक रहेको सो फेशन स्टुडियोको हालै उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ लिम्बूले एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको हो l ‘समय अनुसार विभिन्न डिजाइनका पहिरन उपलब्ध गराउनु फेशन स्टुडियोको विशेषता हो l व्यापार भनेको समयअनुसार तल माथि हुन्छ तर त्यसलाई निरन्तरता दिनु नै ठुलो कुरा हो’ फेशन स्टुडियोको उद्घाटन पश्चात प्रमुख अतिथि कल्पना योङहाङ लिम्बूले भन्नुभयो l कल्पना योङहाङ धेरै वर्ष अघिदेखि देश–विदेशसम्म ढाका कपडा तथा पहिरन बजारीकरण गरेर एक सफल व्यावसायीको रुपमा परिचित महिला उद्यमी हुनुहुन्छ l

सो शुभारम्भ कार्यक्रममा चलचित्र निर्देशक सागर सुब्बा, गायक तथा संगीतकार संगम लिम्बु लगायतले सफल ब्यापार ब्यवासायको लागि शुभकामना दिनुभएको थियो l गोपिमाया थुलुङले ग्राहकको मागअनुसार सबै प्रकारका पहिरनहरु जस्तै ब्राइडल, कल्चरल, क्याजुयल ड्रेस, पार्टी वेयर ड्रेस उत्पादन तथा बिक्री वितरण गर्दै आईरहनुभएको छ । त्यसमा मौसमी पहिरनहरुलाई पनि महत्वका साथ समावेश गर्ने गरिएको छ । साहित्यमा विशेष झुकाब भएकी गोपिमाया थुलुङको ‘आत्मकथा’को पुस्तक पनि छिट्टै प्रकाशन हुने कुरा थाहा भएको छ l पुस्तक गोपिमायाले आफैं लेख्नुभएको हो l कठोर सङ्घर्ष र सफलताको कथा समेटिएको सो पुस्तक धेरैका लागि प्रेरणाको श्रोत हुने अपेक्षा गरिएको छ l

तीज, दशैँ, तिहार जस्ता चाड पर्वमा डिजाइनिङ पहिरनले हिजोआज विशेषता बोक्न थालेको छ । सारी, कुर्ता, लेहेँगा, मेख्ली, गाउन जस्ता पाटी वेयरहरु सदावहार मानिए पनि चाडपर्वमा बढी अर्डर आउने सम्भावना रहेको प्रोपाइटर गोपिमाया थुलुङ बताउनुहुन्छ । दुलही ब्युटी एण्ड फेशन स्टुडियोले तयार पारेका पहिरनको माग आउँने क्रम जारी रहेको र ढाकाको कपडाबाट समेत विभिन्न डिजाइनको पहिरन उपलब्ध गराउने गरिएको कुरा थाहा भएको छ l फेशन स्टुडियोकी संचालक गोपिमाया थुलुङकी आमाले छोरी सानैदेखि पढाइमा अब्बल र चलाख भएकी र भविष्यमा उत्तम काम गर्छिन् भन्ने आफूले पहिल्यैदेखि आशा गरेको भनाइ राख्नुभयो l कार्यक्रमको संचालन पत्रकार सुदिप भण्डारीले गर्नुभएको थियो l