गायक थापा रु. ५१ हजार सहित ‘कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट पुरस्कृत

-तुलसी गिरी ‘भावुक’

वरिष्ठ काँठे गायक रेशम थापा ‘कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार–२०८१’ बाट पुरस्कृत भएका छन् l बहुआयामिक सर्जक शम्भुजित बाँसकोटाको प्रमुख आतिथ्यमा बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक औपचारिक समारोहमा गायक थापालाई नगद रु. ५१ हजार सहित सो पुरस्कार प्रदान गरिएको हो l गायक थापा केही समय अघिदेखि पक्षघातबाट पीडित छन् l

लामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका ‘कन्हैया-अन्जना’ ले विदेशमा आर्जन गरेको रकममध्येबाट केही रकम बचाएर ४ वर्ष अघि व्यक्तिगत रुपमै यो पुरस्कारको स्थापना गरेका हुन् l यसअघि यो पुरस्कारबाट वरिष्ठ सर्जक चन्द्रकला शाह, विश्वबल्लभ र वरिष्ठ सारंगीवादक कृष्ण बहादुर गन्धर्व पुरस्कृत भईसकेका छन् l नेपालमा वितरण भईरहेका अधिकांश अवार्ड, पुरस्कार र सम्मानमा सेटिङ् वा आर्थिक लेनदेनको महत्वपूर्ण भूमिका रहेको भन्ने कुराले व्यापकता पाईरहेको वर्तमान अवस्थामा सही पात्रको छनोट गरी स्वार्थ रहित प्रदान गरिंदै आएको यस पुरस्कारलाई धेरैले सङ्गीत क्षेत्रप्रतिको वास्तविक योगदानको रुपमा समेत मूल्याङ्कन गरेका छन् l समारोहमा कन्हैया-अन्जनाद्वारा स्वरवद्ध एवं अपेक्षा सिंहद्वारा अभिनित केही म्युजिक भिडिओको प्रीमियर समेत गरिएको थियो l

करिव ३ दशक अघि सङ्गीतको औपचारिक यात्रा सुरु गरेका कन्हैया सिंह र अञ्जना गुरुङ नेपाली सङ्गीत क्षेत्रका एक आदर्श र उदाहरणीय जोडी कलाकार हुन् l कन्हैया सिंह परियार सुगम सङ्गीतको क्षेत्रका एक लोकप्रिय गायक हुन् भने सुगम सङ्गीत तथा चलचित्र पार्श्व गायनमा अञ्जना गुरुङको नाम पनि अग्र पङ्क्तिमा आउने गर्दछ l

कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिकी अध्यक्ष गीता सिंहको अध्यक्षत़ा रहेको सो कार्यक्रम एरा प्रोडक्सनको व्यवस्थापन र कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको संयोजनमा आयोजना भएको थियो भने कार्यक्रमको सञ्चालन पुरस्कार समितिका सदस्य सचिव एवं सञ्चारकर्मी माधवराज खरेलले गरेका थिए l समारोहमा कन्हैया-अन्जनाको साथमा उदियमान नृत्याङ्गना/म्युजिक भिडिओ कलाकार छोरी अपेक्षा सिंहको समेत उपस्थिति रहेको थियो l