‘लोजिमा’ ले जित्यो लगातार अवार्ड पछि अवार्ड, सिने वृत्तमा निर्देशक सागर सुब्बाको चर्चा

हालै राजधानीमा सम्पन्न दोस्रो ‘राष्ट्रिय आदिबासी सङ्गीत तथा चलचित्र अवार्ड २०२४’ मा लिम्बू भाषाको चलचित्र ‘लोजिमा’ बाट सागर सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् भने सोही चलचित्रकी मुख्य नायिका बिमला लिम्बूले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् l पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न यो अवार्ड समारोहमा आदिबासी गीत/सङ्गीतका १४ विधा र आदिबासी चलचित्रका ९ विधा गरेर कूल २३ विधामा अवार्ड प्रदान गरियो ।

सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट नायिकाको अवार्डले ‘लोजिमा’ टिमको मेहेनेत, लगनशीलता र प्रतिभाको कदर भएको प्रतिक्रिया दिँदै ‘लोजिमा’का निर्माता, कलाकार र प्राविधिक लगायत सम्पूर्ण चलचित्र टिम यस अवार्डको हकदार भएको कुरा निर्देशक सागर सुब्बाले बताएका छन् l केहीदिन अघि सम्पन्न १२ औं ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ ( NAFF ) र ‘ओप्सना म्युजिक एण्ड फिल्मस अवार्ड’मा समेत ‘लोजिमा’ सर्वोत्कृष्ट चलचित्रको अवार्डबाट सम्मानित भइसकेको छ l

जीवन्त प्रेमकथा र लिम्बू भाषा-संस्कृतिको संरक्षण एवं प्रबर्धनका लागि चलचित्रले दिन खोजेको सन्देश प्रसंसा योग्य छ l सिक्किम र पूर्वी नेपालको विभिन्न स्थानमा गरी लगभग डेढ दर्जन विशेष शो सम्पन्न भई दर्शकहरुको सकारात्मक प्रतिक्रिया र अपार माया बटुलेको ‘लोजिमा’ ले राजधानीको विशेष प्रदर्शनमा पनि दर्शकको ऐतिहासिक साथ पाएको थियो l

लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ l चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ l

लोजिमा हेर्ने अधिकांश दर्शक मलिन अनुहार लिएर कि त आँसु पुछ्दै हलबाट बाहिरिंदै गर्दा ८-९ वर्षका बालबालिकाले समेत घुँक्क घुँक्क गर्दै ‘नायिकालाई बचाउन किन सकिएन ?’ भन्ने आशयका प्रश्नहरु सोधेर निर्देशक सागर सुब्बालाई स्तब्ध पार्दै आएका छन् l जुन कुरा आफैंमा अकल्पनीय, अनपेक्षित र आश्चर्यजनक लाग्छ l केहीवर्ष अघि ‘सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड’ पाउन सफल शेर्पा संस्कृतिमा आधारित चलचित्र ‘कुसुम’ को निर्देशन गरेर छुट्टै पहिचान स्थापित गरेका सागर सुब्बा ‘लोजिमा’ को प्रदर्शन पछि सिने वृत्तमा पुन: चर्चामा आएका छन् l उनको निर्देशकीय क्षमताको चौतर्फी प्रशंसा भईरहेको छ l