अनेसास वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदीको उम्मेद्वारी

-प्रकाश सुवेदी

३३ वर्ष अघिदेखि विश्वभरिका साहित्यानुरागी तथा साहित्यकारहरुलाई भावनात्मक रूपमा समेट्दै विभिन्न साहित्यिक तथा सांस्कृतिक गतिविधि अगाडि बढाउँदै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सन् २०२४-२०२६ का लागि यही जुलाई ६ र ७ मा चुनाव हुँदैछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, क्षेत्रीय उपाध्यक्ष र महासचिव पदमा यस पटक तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा यस अगाडि नै महासचिवको अनुभव सँगालेकी विमला निरौला र वरिष्ठ उपाध्यक्षको अनुभव सँगालेका सर्वज्ञ बाग्ले, वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदी र राजेन्द्र श्रेष्ठ, महासचिवमा नीलकृष्ण गिरी र राजु सिटौला लगायत विभिन्न पदमा उम्मेद्वारहरु प्रतिस्पर्धी छन् भने केही पदका उम्मेद्वारहरु यस अघि नै निर्विरोध भईसकेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा सचिवसम्मको पद सह्मालिसकेका वरिष्ठ साहित्यकार लालगोपाल सुवेदीले पनि आगामी कार्यकाल २०२४-२०२६ का लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।

वि. सं २०२७ सालमा स्याङ्‌जा जिल्लामा जन्मिएका सुवेदी १८ वर्षको उमेरमा नै प्रज्ञा-प्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा पुरस्कृत भई राष्ट्रिय स्तरमा स्थापित भइसकेका थिए । हालसम्म राष्ट्रिय स्तरका दर्जनौँ पुरस्कार प्राप्त गरेका उनका फूलको देशमा (छन्दकवितासङ्ग्रह-२०५७), नेपाली कविताको सिद्धान्त र विकासक्रम (समालोचना-२०५७), पुतलीलाई जामा (बालकवितासङ्ग्रह-२०६१), देवताजस्तै नेपाली मन्दिरजस्तै नेपाल (बालकवितासङ्ग्रह-२०६१), नानीका निबन्ध र चिट्ठी (निबन्धस‌ङ्ग्रह-२०६१), रोटीको दन्त्यकथा (कवितासङ्ग्रह-२०७६), बिक्रीमा पृथिवी (कवितासङ्ग्रह-२०७९), राहुल-यशोधरा संवाद (गीतनाटक-२०७९) लगायत १८ कृति प्रकाशित छन् ।

सन् २०१२ देखि नै अनेसास बोष्टन च्याप्टरको पदीय जिम्मेवारी सम्हाल्दै आएका उनले विगतमा अनेसास बोस्टनको महासचिव, उपाध्यक्ष र अध्यक्ष भएर उत्कृट कामहरु गरेका थिए । आफू बोष्टन च्याप्टरको अध्यक्ष भएका बेला विश्वस्तरीय कविता प्रतियोगिता गरेर नेपाली साहित्य क्षेत्रमा वोष्टन च्याप्टरलाई विश्वव्यापी बनाएको प्रसङ्ग अहिले पनि चर्चाको विषयमा पर्दछ । पूर्व अध्यक्ष राधेश्याम लेकालीको कार्यकालमा सचिव बनेका उनलाई केन्द्रीय कार्य समितिको बैठकले सन् २०१८ मा अनेसास दर्पणको प्रधान सम्पादकको जिम्मेवारी दिएको थियो ।

आफ्नो पदीय जिम्मेवारी र कर्तव्यलाई राम्रोसँग बुझेका सुवेदी २०२२ को चुनावमा भने वरिष्ठ उपाध्यक्ष‌ पदमा पराजित भएका थिए । काम गर्न पदले छेक्दैन भन्ने मान्यता राख्ने सुवेदीको सक्रियतामा भने कुन‌ै कमी आएन । कार्यसमितिकै अनुरोधमा सन् २०२२ अन्तर्दृष्टि पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारी समेत वहन गरेका उनले अन्तर्दृष्टि स्वर्ण अङ्कलाई उत्कृष्ट बनाएका छन् । यस अङ्कमा आजका दिनसम्म आउँदा अनेसासको प्रगति र बिस्तारमा क-कस्को उल्लेखनीय भूमिका रह्यो भन्ने पनि छर्लङ्ग बुझ्न पाइन्छ ।