१२ औं ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट चलचित्र सहित ‘लोजिमा’लाई ३ अवार्ड

-तुलसी गिरी ‘भावुक’

लिम्बू संस्कृतिमूलक चलचित्र ‘लोजिमा’ ले राजधानीमा सम्पन्न १२ औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ( NAFF ) मा सर्वोत्कृष्ट चलचित्र र अन्य २ वटा गरी ३ वटा अवार्ड जितेको छ l फेस्टिभलमा यसै चलचित्रकी नायिका बिमला लिम्बूले सर्वोत्कृष्ट नायिका र रुद्र पहिम लिम्बूले सर्वोत्कृष्ट नव नायकको अवार्ड जितेसँगै ‘लोजिमा’ ले प्रमुख विधाका ३ वटा अवार्ड हात पार्न सफल भएको हो l

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसन प्रा.लि.को आयोजनामा सम्पन्न भएको सो फेस्टिभलमा प्रमुख अतिथि रक्षा मन्त्री हरि प्रसाद उप्रेती, विशेष अतिथि अग्रज कलाकार बसुन्धरा भुसाल र लोकप्रिय कलाकार रमेश उप्रेतीको हातबाट सो अवार्ड वितरण गरिएको थियो l अवार्ड वितरण समारोहमा प्रमुख अतिथि रक्षा मन्त्री हरि प्रसाद उप्रेतीले आफूलाई ज्याकी च्याङ जस्तै नेपाली कलाकारले पनि आफ्नो कला-संस्कृतिको लागि जिम्मेवार भएर काम गर्नुपर्छ भनेर हौसला दिँदा आत्मविश्वास बढेको कुरा नायक रुद्र पहिमले बताएका छन् l

३ दिनसम्म चलेको सो महोत्सव सीडीसी सिनेमा सीटीसी मल सुन्धारा, काठमाडौंमा व्यवस्थित एवं भव्य रुपमा सम्पन्न भएको थियो l ‘लोजिमा’ले पाएको प्रमुख तीन विधाको अवार्डले ‘लोजिमा’ टिमको मेहेनेत, लगनशीलता र प्रस्तुतिको कदर भएको कुरा सो चलचित्रका निर्देशक सागर सुब्बाले बताएका छन् l आफूले पाएको यो अवार्डले आगामी दिनमा अझ राम्रो काम गर्ने प्रेरणा र हौसला मिलेको नायिका बिमला लिम्बूले बताइन् |
जीवन्त प्रेमकथा र लिम्बू भाषा-संस्कृतिको संरक्षण एवं प्रबर्धनका लागि चलचित्रले दिन खोजेको सन्देश प्रसंसायोग्य छ l सिक्किम लगायत पश्चिम बङ्गालका विभिन्न स्थान र पूर्वी नेपाल गरी लगभग दुई दर्जन विशेष शो सम्पन्न भई दर्शकहरुको सकारात्मक प्रतिक्रिया र अपार माया बटुलेको ‘लोजिमा’ ले राजधानीको विशेष प्रदर्शनमा पनि दर्शकको ऐतिहासिक साथ पाएको थियो l

लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ l चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ l

केहीवर्ष अघि ‘सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड’ पाउन सफल शेर्पा संस्कृतिमा आधारित चलचित्र ‘कुसुम’ को निर्देशन गरेर छुट्टै पहिचान स्थापित गरेका सागर सुब्बा ‘लोजिमा’ को प्रदर्शन पछि सिने वृत्तमा पुन: चर्चामा आएका छन् l उनको निर्देशकीय क्षमताको चौतर्फी प्रशंसा भईरहेको छ l केहीदिन अघि मात्र राष्ट्रिय ओप्सना म्युजिक एण्ड फिल्म अवार्ड समारोहमा सर्वोत्कृष्ट आदिबासी चलचित्रको अवार्ड जितेको यस चलचित्रले फेस्टिभलमा महत्वपूर्ण ३ विधामा अवार्ड जितेपछि सिने वृत्तमा निर्देशक सागर सुब्बाको उचाई अझ बढेको छ l