लोजिमाले जित्यो सर्वोत्कृष्ट आदिबासी चलचित्रको अवार्ड

हालै सम्पन्न ‘राष्ट्रिय ओप्सना म्युजिक एण्ड फिल्म अवार्ड-२०८१’ मा लिम्बू संस्कृतिमूलक चलचित्र लोजिमा सर्वोत्कृष्ट आदिबासी चलचित्रको अवार्डबाट सम्मानित भएको छ l पूर्व सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रम भव्य र व्यवस्थित रुपमा सम्पन्न भएको थियो l सर्वोत्कृष्ट आदिबासी चलचित्रको अवार्डले लोजिमा टिमको मेहेनेत, लगनशीलता र प्रतिभाको कदर भएको कुरा सो चलचित्रका निर्देशक सागर सुब्बाले बताएका छन् |

जीवन्त प्रेमकथा र लिम्बू भाषा-संस्कृतिको संरक्षण एवं प्रवर्धनका लागि चलचित्रले दिन खोजेको सन्देश प्रशंसनीय छ l सिक्किम र पूर्वी नेपालको विभिन्न स्थानमा गरी लगभग डेढ दर्जन विशेष शो सम्पन्न भई दर्शकहरुको सकारात्मक प्रतिक्रिया र अपार माया बटुलेको ‘लोजिमा’ ले राजधानीको विशेष प्रदर्शनमा पनि दर्शकको ऐतिहासिक साथ पाएको थियो l

लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ l चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ l

राजधानीमा सम्पन्न विशेष प्रदर्शनका क्रममा लोजिमा हेर्ने अधिकांश दर्शक मलिन अनुहार लिएर, कि त आँसु पुछ्दै हलबाट बाहिरिंदै गर्दा ८-९ वर्षका बालबालिका समेत घुँक्क घुँक्क गर्दै ‘नायिकालाई बचाउन किन सकिएन ?’ भन्ने आशयका प्रश्नहरु सोधेर निर्देशक सागर सुब्बालाई अक्क न बक्क पारिरहेको देखिएको थियो l जुन दृश्य आफैंमा अकल्पनीय, अनपेक्षित र आश्चर्यजनक थियो l

केहीवर्ष अघि ‘सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड’ पाउन सफल शेर्पा संस्कृतिमा आधारित चलचित्र ‘कुसुम’ को निर्देशन गरेर छुट्टै पहिचान स्थापित गरेका सागर सुब्बा ‘लोजिमा’ को प्रदर्शन पछि सिने वृत्तमा पुन: चर्चामा आएका छन् l उनको निर्देशकीय क्षमताको चौतर्फी प्रशंसा भईरहेको छ l

यही असार ७, ८ र ९ गते काठमाडौंमा आयोजना हुन गईरहेको १२ औं नेपाल अफ्रिकन फिल्म फेस्टिभल (NAFF) मा लोजिमा उत्कृष्ट निर्देशक, उत्कृष्ट चलचित्र, उत्कृष्ट नायिका, उत्कृष्ट नायक र उत्कृष्ट नवनायक गरी पाँच विधामा अवार्डको लागि मनोनयनमा परेको छ l महोत्सवमा १० देशका २८ वटा चलचित्र सहभागी छन् l निर्देशक सागर सुब्बाले यो महत्वपूर्ण अन्तर्राष्ट्रिय अवार्डको मनोनयनले समग्र लोजिमा टिम हर्षित भएको प्रतिक्रिया दिएका छन् l