राष्ट्रप्रेमले ओतप्रोत गीत ‘काखैभरि’को भिडिओ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

समाजसेवी, कवि तथा गीतकार शोभित उप्रेतीको रचना र जुगल डंगोलको सङ्गीत तथा सङ्गीत संयोजनमा नरहरि प्रेमी र अञ्जु पन्तको स्वर रहेको राष्ट्रिय भावको गीत ‘काखैभरि’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ बुधबार यस गीतका गायक नरहरि प्रेमीकै अफिसियल युट्युब च्यानल Narahari Premee बाट डिजिटल बजारमा आएको हो l

सुनिता राजभण्डारीको कोरियोग्राफीमा छायाङ्कन भएको यस भिडिओमा आर्यम नकर्मीको निर्देशन रहेको छ l जसमा अमिशा ढकाल, प्रजित गौतम, रवि कार्की, प्रकाश श्रेष्ठ, हिरा श्रेष्ठ, राजकुमार गिरी, आर्यम नकर्मी, सुनिता राजभण्डारी, बसुमान महर्जन, हरि किजू र वुद्धि तामाङको मौलिक नेपाली पहिरनमा आकर्षक नृत्य-अभिनय रहेको छ । भिडिओको छायाङ्कन/सम्पादन दिपेन बस्न्यातले गरेका हुन् l राष्टप्रेमले ओतप्रोत यस गीतमा स्वदेशको माटो, भेषभूषा, कला-संस्कृति र परम्परा, प्राकृतिक सुदरता र वीरहरुका ऐतिहासिक गौरवगाथाप्रति गर्व गरिएको छ अनि अथाह प्रेम प्रकट भएको छ l

साहित्यका भिन्न भिन्न विधामा कलम चलाउँदै आएका गीतकार शोभित उप्रेतीका यसअघि अन्य कृतिहरु पनि प्रकाशित भैसकेका छन् भने केही प्रकाशनको तयारीमा रहेका छन् । प्राप्त जानकारी अनुसार गीतकार उप्रेतीकै शब्द रचनामा नरहरि प्रेमी र अस्मिता अधिकारीको युगल गायनमा अर्को एउटा रमाइलो गीत चाँडै दर्शक/श्रोतामाझ आउने भएको छ । दोलखाको शैलुङमा जन्मिएका सर्जक उप्रेती चर्चित पर्यटन अभियन्ता समेत हुन् । उनको नेतृत्वदायी सकृयतामा समग्र दोलखा र विशेषगरि शैलुङ पर्यटन प्रवर्द्धनका योजनामा धेरै कामहरु भैरहेका छन् ।