क्यान्सर पीडित गीतकार टिका चाम्लिङ राईको जीवन रक्षाका लागि गीतकार सङ्घको अपिल

गीतकार सङ्घ नेपालले आज एक विज्ञप्ति प्रकाशित गरी आफ्नो सङ्घका सदस्य एवं प्राज्ञ टिका चाम्लिङ राईलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ l केही महिना अघिदेखि क्यान्सरको उपचार गराईरहेका गीतकार चाम्लिङको उपचारमा ठूलो धनराशी खर्च भईसकेको र आर्थिक अभाव हुँदै गएको भन्दै स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक एवं समग्र गीत-सङ्गीतप्रेमी शुभचिन्तकहरुलाई सहयोगको लागि सङ्घले अपिल गरेको हो l

सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – ‘लोकप्रिय गीतकार तथा यस सङ्घका सदस्य प्राज्ञ टीका चाम्लिङ राई अचानक अस्वस्थ भई विगत केही महिनादेखि उपचारको क्रममा रहनुभएको र हाल उहाँलाई क्यान्सर देखिएको जानकारी हुन आएको हुँदा संस्थागत रुपमा यस कार्यलयबाट उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम पनि गरिरहेका छौं । अत: उहाँको उपचारमा के कति समय लाग्ने हो ? के कति खर्च हुने हो ? अहिलेसम्म यकिन हुन सकेको छैन ।

उपचार गर्ने क्रममा ठूलो धनराशी खर्च भईसकेको र खर्चको अभाव हुँदै गएकोले यस सङ्घका अध्यक्ष बसन्त वित्यासी थापाको नेत्तृत्वमा निवर्तमान अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष रमेश कोईराला, महासचिव टिका राई (शिव) र कोषाध्यक्ष चेतन खतिवडाको टोलीले गीतकार प्राज्ञ टिका चाम्लिङलाई निवासमा नै भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएपछि सङ्घको तर्फबाट नगद रु.२५ हजार आर्थिक सहयोग समेत गरेका छौं ।

उहाँको जीवन रक्षाका लागि व्यक्तिगत र संस्थागत रुपमा आर्थिक सहयोग गरिदिनु हुन स्वदेश तथा विदेशमा रहनुभएका सर्जक, कलाकार, प्राविधिक एवं समग्र गीत-सङ्गीतप्रेमी शुभचिन्तकज्यूहरुमा गीतकार सङ्घ नेपाल हार्दिक अपिल गर्दछ l ईच्छुक दाताहरुले सिधै यस सङ्घको एभरेष्ट बैंकको खाता नम्बर ००१००१०५२००८४७ (गीतकार सङ्घ नेपाल) मा जम्मा गरिदिनु हुन वा सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा (९८४९६११२३९), महासचिव टिका राई ‘शिव’ (९८५२८९०३८३) र कोषाध्यक्ष चेतन खतिवडा (९८५११६७२९२) लाई सम्पर्क गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौं ।‘