डा. प्रदिप कुमारको रचना र भविनको सङ्गीत/स्वरमा ‘हावा नभन्नू प्यारी’

-प्रकाश सुवेदी

सङ्गीतको बजारमा भर्खरै मात्र ‘हावा नभन्नू प्यारी’ बोलको प्रणयपरक रोमाञ्चक गजलको अडिओ/भिडिओ सार्वजनिक भएको छ । गजलको शास्त्रीय मूल्य र मान्यतालाई पूर्ण रूपमा पालना गरेर लेखिएको र सङ्गीतबद्ध गरि गाइएको यस गजलले नेपाली गजल संसारमा गजलको उचाइलाई थप उँचो बनाउने प्रक्षेपण गरिएको छ ।

रचना, सङ्गीत र गायनका हिसाबले अब्बल यस गजलले दर्शक/श्रोतालाई मन्त्रमुग्ध बनाउन थालिसकेको छ । गजलको श्रीवृद्धिका लागि सधैँ क्रियाशील रहने गजलकार डा. प्रदिप कुमार मैनालीले रचना गरेको यस गजलका सङ्गीतकार एवं गायक भविन ढुंगाना हुन् । चर्चित गजल ‘के लत बस्यो मलाई’ का गजलकारका रूपमा ख्याति कमाईसकेका गजलकार मैनाली नेपाली साङ्गीतिक गजलको स्वर्णयुगको सुरुआत भएको जिकिर गर्छन् । उनी नेपाल गजल प्रतिष्ठानका सल्लाहकार समेत हुन् ।

सङ्गीत मर्मज्ञ सङ्गीतकार एवं गायक भविन ढुङ्गाना ललितकला क्याम्पसका सङ्गीत अध्यापक हुन् भने उनले राष्ट्रिय टेलिभिजनमा प्रसारण भैसकेका ‘भ्वाइस अफ नेपाल’ जस्तो प्रतिष्ठित साङ्गीतिक रियालिटी शोमा टिम दिपका एड्भाइजर एवं कार्यक्रम मेरो ‘भ्वाइस युनिभर्स’ मा डाइरेक्टरको भूमिका निर्वाह गरिसकेका छन् ।