अम्बिका गुरुङको रचना र शंकर थापाको सङ्गीतमा हिन्दी गीत, भिडिओमा मनाङको मनमोहक दृश्य

-तुलसी गिरी ‘भावुक’

हिमालपारिको जिल्ला मनाङको रमणीय स्थानहरुमा छायाङ्कन गरिएको म्युजिक भिडिओ ‘तस्बीर’ सार्वजनिक भएको छ l लोकप्रिय गीतकार अम्बिका गुरुङको रचनामा रहेको यो गीत हिन्दी भाषामा छ l प्रसिद्ध सङ्गीतकार शंकर थापा ‘स्माइल’ को सङ्गीत र याकुब तामाङको सङ्गीत संयोजन रहेको यस गीतमा स्माइल दासले स्वर दिएका छन् l फिल स्टुडियोका साउण्ड इन्जिनियर कुमार के.सी. ले रेकर्ड गरेको यस गीतमा अशोक महर्जनको मिक्सिङ/माष्टरिङ रहेको छ l गीतको भिडिओ सर्जक अम्बिका गुरुङकै अफिसियल युट्युब च्यानल Bhavsagar Entertainment LLC बाट डिजिटल बजारमा आएको हो l लामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेकी गीतकार अम्बिका गुरुङको यसअघि लगभग ७ सय गीत रेकर्ड भैसकेका छन् भने २ सय भन्दा बढी म्युजिक भिडिओ समेत बजारमा आएका छन् l

केशवराज भट्टको कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा प्रनिमा दाहाल, प्रभात पल ठकुरी र देवेन्द्र बरालले अभिनय गरेका छन् भने छायाङ्कन उत्सव दाहालको, सम्पादन बन्दे प्रसाद/मिलन श्रेष्ठको र रङ्ग सम्पादन प्रवीण ढकालको रहेको छ l भिडिओ मुभी पोइन्टको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l
भिडिओमा मनाङ घुम्न गएका केटाहरुको समूहका एक युवक स्थानीय युवतीको सौन्दर्यमा लट्ठ परेपछिको मनोभावलाई गीत तथा भिडिओमा प्रस्तुत गरिएको छ l उच्च हिमाली भेगको मनमोहक दृश्य र आकर्षक प्रेमी जोडीको अभिनयले भिडिओ हेर्दा हेर्दै कतिबेला सकिन्छ पत्तै हुन्न l अत्यन्तै मीठो सङ्गीत र गायन यस गीतको अर्को प्रशंसनीय पाटो हो l हर शैली र प्रकारका गीतमा शब्दपरक, उत्तिकै कर्णप्रीय सङ्गीत सिर्जना गर्न सिद्धहस्त सङ्गीतकार शंकर थापा ‘स्माइल’ ले यस गीत मार्फत पुन: आफूलाई बहुआयामिक र अब्बल साबित गरेका छन् l