९ वर्षीय सुदेश्नाको स्वरमा बालगीत `छुनुमुनु´ सार्वजनिक

-प्रकाश सुवेदी 

राजधानीको डिएभी स्कुलमा कक्षा ३ मा अध्ययनरत ९ वर्षकी बालिका सुदेश्ना शाक्यको स्वरमा रहेको बालगीत `छुनुमुनु´ को भिडिओ सार्वजनिक भएको छ l सुदेश्ना इन्टरटेन्मेण्ट प्रा. लि. को प्रस्तुति रहेको बालगीतको भिडिओ Sahas Shakya Official युट्युब च्यानल मार्फत नेपाली साङ्गीतिक बजारमा सार्वजनिक भएको हो ।

मुकुन्द पौडेलको रचना रहेको यस गीतमा चर्चित सङ्गीतसंयोजक साहस शाक्यले सङ्गीत भरेका छन् । ‘यस्तो पनि बेला हुन्छ छुनुमुनु गर्ने छुनुमुनु गर्ने, कहिले काखमा कहिले भुईँमा ढुनुमुनु गर्ने ढुनुमुन गर्ने’  यस्तै यस्तै बालसुलभ शब्दहरु भएको यस गीतमा बुबाआमाको माया र महत्वलाई दर्शाउँदै बुबाआमा जत्तिको नजिकको नाता संसारमा अर्को नभएको बताइएको छ ।

प्रस्तुत गीतका सङ्गीतकार तथा सुदेश्नाका बुबा साहसले छोरीले गायनमा रुचि देखाएको हुँदा उनको प्रतिभालाई प्रस्फुटन गराउन यो गीत रेकर्ड गराएको कुरा जानकारी गराएका छन् । सामान्य तरिकाले स्टुडियो भर्सनमा छायाङ्कन गरिएको यस गीतको भिडिओ पिटर गुरुङले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।