सिद्ध गुफाभित्र छायाङ्कन गरिएको भिडिओ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी.आर. उपाध्यायको नयाँ गीत ‘राखिरहुँ आँखामा’ को भिडिओ श्रोता/दर्शकमाझ आएको छ । उपाध्यायकै स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र प्रकाश विष्टको माष्टरिङ रहेको यस गीतको भिडिओ गीतकार उपाध्यायकै युट्युब च्यानल DR Music & Creations बाट २ दिन अघि सार्वजनिक भएको हो ।

सुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको यस गीतको भिडिओमा मञ्जु खड्का क्षेत्री र रमेश थापालाई फिचरिङ गरिएको छ । तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफाभित्र केहीदिन अघि छायाङ्कन गरिएको यो भिडिओ विनोद तामाङले खिचेका हुन् भने पदम सुवेदीको सम्पादन रहेको छ ।

डा. उपाध्यायले विभिन्न विधामा १ सय ३३ विश्व कीर्तिमान कायम गरिसकेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, ३ गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरिसकेका उपाध्यायका सयौं गीतका भिडिओ पनि बजारमा आएका छन् ।