डा. उपाध्यायद्वारा सर्वाधिक उचाईमा गीत रेकर्ड गरी ‘गिनिज वर्ल्ड रेकर्ड’


विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी.आर. उपाध्याय र उहाँको टिमले तिलिचो तालभन्दा माथि गीत रेकर्डिङ गरेर विश्व कीर्तिमान कायम गरेको छ । उहाँहरूको टिमले ५ हजार १ सय ५ मिटरको उचाइ (हाई अलटिच्युट) मा विश्व कीर्तिमान कायम गरेको प्रमाणपत्र गिनिज बुक अफ वर्ल्ड रेकर्डले प्रदान गरेको हो ।

सो टिमलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना भएको कार्यक्रममा राष्ट्रपति पौडेलले विविध कष्टका बाबजुद पनि आफ्नो लक्ष्यमा पुगेर कीर्तिमान कायम गर्नुभएको भन्दै बधाई तथा शुभकामना दिनुभएको थियो । ‘विभिन्न कष्ट, दुःख पाएर पनि आफ्नो लक्ष्यमा पुग्नुभयो, यो प्रशंसनीय कार्यका लागि बधाई तथा शुभकामना दिन चाहन्छु,’ उहाँले भन्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूले कायम गरेको यस्ता कीर्तिमानले राष्ट्रको गौरव बढाउने बताउनुभयो ।

उक्त कार्यक्रममा यात्रा अनुभव र यसले विश्व कीर्तिमान कायम गर्दासम्मका विषयमा पत्रकार कृष्ण भुसालले भनाइ राख्नुभएको थियो । उहाँले तिलिचो ताल यात्राका अनुभव सुनाउँदै कलाकार श्रद्धा क्षेत्री ठूलो दुर्घटनाबाट बाँच्न सफल भएको खुलासा गर्नुभएको थियो ।

डा. उपाध्यायको शब्द रहेको यो गीतमा सागर अधिकारी ‘शरद’ को स्वर र सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ । महेन्द्र चन्द ‘माइकल’को निर्देशन रहेको यस गीतको भिडिओमा पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । उत्सव दाहालले छायाङ्कन गर्नुभएको यस भिडिओमा सिलन लम्सालको सम्पादन छ । गीत र भिडिओसँग सम्बन्धित सबैलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले प्रमाणपत्र उपलब्ध गराएको छ ।