मुन प्रसाईंको स्वरमा सन्देशमूलक गीत ‘जीवन यो हाम्रो’

-प्रकाश बराईली ‘अभिव्यक्ति’

डिजिटल युग सुरु भएसँगै नेपाली सङ्गीत बजारले विश्वव्यापी रुपमा पहुँच कायम गरिसकेको छ भने ठूलो व्यावसायिक छलाङ समेत मारिसकेको छ l कलाकारहरुले नियमित रुपमा नयाँ नयाँ गीतका भिडिओहरु सार्वजनिक गरिरहेका छन् । 

‘जीवन यो हाम्रो दुई दिने चोला घाम र छाया हो, मरेर लैजानु के नै रैछ र बाँच्ने त माया हो’ भन्ने कुरालाई समेट्ने कोसिस गरिएको गीत जीवन यो हाम्रो को भिडिओ सार्वजनिक भएको छ । वास्तवमा मायाले नै संसार चलेको छ । माया शब्द कसको लागि प्यारो नहोला र ? मायाले कसैलाई जीवन दिन सक्छ भने घृणाले अरुको मनोबल घटाउँछ ।

माया नपाएर कोही कसैले अकालमै आफ्नो ज्यान गुमाएका घटनाहरु दिनानुदिन सामाजिक सञ्जालमा आईरहेका पनि छन् । माया एक अर्काको विश्वास, भरोसा, सम्बन्ध, सामिप्यता अनि आत्मियताको परिपूरक हो । माया विना केही पनि सम्भव छैन । सोही कुरालाई मध्यनजर गर्दै सकारात्मक सन्देश दिनका लागि यो गीत सार्वजनिक गरेको कुरा निर्माण पक्षले जानकारी गराएको छ ।

जीवन यो हाम्रो नामक गीतमा मुन प्रसाई (जुनु) को स्वर रहेको छ भने डा. विष्णु ईङनाम (लिम्बू) को शब्द, बिशान मुकारुङको सङ्गीत रहेको छ । भिडिओमा उजाड योङहाङ लिम्बूको निर्देशन, रुबेन गजमेरको परिकल्पना, सुनिल सुन्दाशको छायाङ्कन तथा सम्पादन, रोशन धितालको रङ्ग संयोजन रहेको छ । यस गीतको निर्माता तारा लिम्बू सोदेम्बा रहेका छन् ।

भिडिओमा मुन प्रसाई (जुनु) र कला शिवाको अभिनय रहेको छ भने राम बहादुर बमजम अतिथि कलाकारको रुपमा देखा परेका छन् । यस गीतलाई Tara Music Creation युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।