गायिका निता आचार्यको आठौँ भिडिओ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

निता आचार्यको स्वरमा रहेको गीत ‘चुपचाप’ को भिडिओ सार्वजनिक भएको छ l गायिका आचार्यकै अफिसियल युट्युब च्यानल Nita Acharya बाट शनिबार भिडिओ डिजिटल बजारमा आएको हो l पुष्कर शाहको शब्दरचना, शंकर थापा ‘स्माइल’ को सङ्गीत, विश्व अधिकारीको सङ्गीत संयोजन र कुमार के.सी. को मिक्सिङ/माष्टरिङ रहेको यो गीत अनामनगरस्थित फिल स्टुडियोमा केही हप्ता अघि मात्र रेकर्ड भएको थियो l

‘चुपचाप’ को भिडिओ किरण श्रेष्ठको निर्देशन र प्रताप सिंहको सिनेमाटोग्राफीमा छायाङ्कन भएको हो l जसमा वरिष्ठ कलाकार शर्मिला मल्ल र पुष्कर शाहको अभिनय रहेको छ l भिडिओमा आफ्नो काममा मात्र एकाग्र भएर पति बोल्नै छाडेपछि दु:खी भएकी पत्नीको मनोदशा प्रस्तुत गरिएको छ l भिडिओ सुखान्त कथामा निर्माण भएको छ l

लामो समयदेखि अमेरिका बस्दै आएकी गायिका निता आचार्य केही हप्ता अघि मात्र गीत रेकर्डकै सिलसिलामा नेपाल आएकी थिईन् l यसपटकको बसाईमा उनले ५ वटा गीत रेकर्ड गरिन् र ५ वटैको भिडिओ समेत निर्माण गरिन् l ती मध्ये यसअघि रिलिज भएका ३ वटा गीत युगल स्वरका थिए भने ‘चुपचाप’ निताको एकल स्वरमा रहेको छ l एकल र युगल स्वरका गरी निताको स्वरमा हालसम्म १ दर्जन गीत रेकर्ड भएका छन् भने ८ वटा गीतका भिडिओ समेत सार्वजनिक भईसकेका छन् l यसपटक शुटिङ भएको पाचौं भिडिओ पनि उपयुक्त समयमा छिट्टै रिलिज गरिने कुरा गायिका आचार्यले जानकारी गराएकी छिन् l