डा. उपाध्यायद्वारा टिशर्टमा गीत प्रदर्शन


विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी.आर. उपाध्यायले आफ्ना सयभन्दा बढी गीत टिशर्टमा प्रिन्ट गरेर प्रदर्शन गर्नुभएको छ । डा. उपाध्यायले शुक्रबार काठमाडौंको नक्सालस्थित बहिरा केन्द्रीय विद्यालयमा सयभन्दा बढी गीत टिशर्टमा प्रिन्ट गरेर प्रदर्शन गर्नुभएको हो ।

आफ्ना गीत फरक-फरक तरिकाले प्रदर्शन र प्रस्तुत गर्ने क्रममा आफूले टिशर्टमा प्रिन्ट गरेर प्रदर्शन गरेको डा. उपाध्यायले जानकारी दिनुभयो । बहिरा स्कुलका विद्यार्थीले डा. उपाध्यायका गीत प्रिन्ट भएका टिशर्ट लगाएर प्रदर्शन गरेका थिए । स्कुलका प्राध्यापक उपेन्द्र पराजुलीले डा. उपाध्यायको कार्यलाई प्रशंसा गर्नुभएको थियो । यस्तै अन्य अतिथिहरूले डा. उपाध्यायलाई उक्त कार्यका लागि बधाई तथा शुभकामना दिएका थिए ।

डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडिओ पनि सार्वजनिक छन् । स्कुलका शिक्षक विद्यार्थीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुग्ने तयारीमा रहेको जानकारी दिनुभएको थियो ।